१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असोज २६ । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप २०१८ जितेका छन् ।

उनले २.५ किमिको दूरी २१ मिनेट ३२.६७ सेकेन्डमा पूरा गरे । योसँगै गुरुङले नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

गुरुङले पाँचौं र छैटौं संस्करण पनि जितेका थिए । यसअघिको संस्करण भने सशस्त्र प्रहरीका देवेश मानन्धरले जितेका थिए ।

नेपाल पौडी संघको आयोजनमा फेवातालस्थित बाराहीघाटमा भएको च्याम्पियनसिपमा वेदज्ञराज जोशी २१ मिनेट ३८.३१ सेकेन्ड समयका साथ दोस्रो भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाए ।

तेस्रो स्थानमा अविरल भण्डारी रहे । उनले २१ मिनेट ४२.३१ सेकेन्ड समय खर्चे । भण्डारीले १० हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फको प्रतिस्पर्धामा उपास्ती महर्जन २२ मिनेट ३३.३५ सेकेन्ड समयका साथ पहिलो भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

यस्तै, २३ मिनेट ५५.९५ सेकेन्ड समयका साथ समीरा शोभा थापा दोस्रो तथा तेस्रो भएकी श्रेवी महर्जनले २४ मिनेट ०५.७७ सेकेन्ड समय लगाइन् । दोस्रो र तेस्रो हुनेले क्रमशः १० र ८ हजार रुपैयाँ पाए ।