काठमाडौं, असोज २३ । नेपाल कम्युनिस्ट पार्टीले यस वर्षको दसैं, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौंको भृकुटीमन्डपमा चियापान गर्ने भएको छ ।
पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महत्वको ऐतिहासिक कार्यक्रममा रुपान्तरण गर्न पार्टीले तयारी गरेको छ ।
पार्टीका महासचिव विष्णु पौडेलको उपस्थितिमा मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित बैठकमा व्यवस्थापन र तयारीमा लाग्न पार्टीको प्रदेश नम्बर–३ कमिटी, उपत्यकास्थित कमिटी र जनसंगठनलाई परिचालन गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।
विगतमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले अलग–अलगरुपमा चाडपर्वका अवसरमा चियापनको आयोजना गर्दै आएकामा गत जेठ ३ गते दुई पार्टीको एकतापछि पहिलोपटक चियापन कार्यक्रम आयोजना हुन लागेको हो ।
यसैबीच, पार्टीको मातहतका कमिटीको एकतालाई पूर्णता दिने, सरकार र पार्टीको समीक्षा गर्नेलगायतका विषयमा छलफल गर्न बुधबार बिहान नेकपाको सचिवालय बैठक बस्दैछ ।
सो बैठकले पार्टीले स्थायी कमिटीको बैठकको मिति र कार्यसूची तय गर्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्