काठमाडौं, असोज २२ । सर्वोच्च अदालतले ‘गुन्डा’का नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ ।
न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले सोमबार बस्नेतलाई थुनामुक्त गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गर्ने आदेश दिएको हो ।
यही असोज १७ गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सूचना पाएको तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो ।
सोही आदेशानुसार सर्वोच्च अदालतमा उपस्थित भएपछि बस्नेतको निवेदन खारेज गरिएको हो ।
ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई मुस्ताङ कारागार पठाइएको थियो ।
बस्नेतलाई गैरकानुनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सुधीरमानसिंह बस्नेतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले भारतबाट पक्राउ गरेर गत मंसिरमा सार्वजनिक गरेपछि बस्नेतलाई थुनामा रोखेको थियो ।
गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्