२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


सुदूरपश्चिम प्रदेश सरकारले के गर्‍यो, के गर्न सकेन ? (भिडियो)


0
Shares

विराज रोस्यारा

कैलाली, असोज २१ । अन्य प्रदेशमा प्रदेश सरकारका गतिविधि सन्तोषजनक नभएको टिप्पणी आइरहँदा सुदूरपश्चिम प्रदेशको अवस्था पनि करिब उस्तै छ । देशको राजधानीबाट सबैभन्दा टाढा रहेको यो प्रदेश विकासका दृष्टिले पहिलेदेखि नै धेरै पछाडि छ । 

सुदूरपश्चिम प्रदेशमा सरकार गठन भएको ७ महिना बितिसकेको छ । विवादको बीच भएपनि स्थायी राजधानी र प्रदेश नामाकरणको विषय भने यस प्रदेशमा सल्टिइसकेको छ । तर कानुन निर्माण र विकास निर्माणका काममा भने सरकारले अपेक्षित प्रगति गर्न सकिरहेको छैन । सरकारलाई चाहिने कतिपय महत्वपूर्ण कानुन प्रदेश सभाले पारित गर्न सकेको छैन । बरु सरकारका मुख्यमन्त्री र मन्त्रीहरु बढी भन्दा बढी औपचारिक कार्यक्रममै केन्द्रित भएको बुद्धिजीविले टिप्पणी गर्न थालेका छन् । 

यतिबेला सदनमा दुईतिहाई मतसहितको दुर्लभ अवसर सरकारलाई प्राप्त छ । जसबाट तुलनात्मक रुपमा जनअपेक्षा पनि बढी नै देखिन्छ । अर्कोतिर थुप्रै कानुन निर्माणको काम बाँकी नै छ तर पनि प्रदेशसभाका सांसद काम नपाउँदा फुर्सदिलाजस्तै छन् । सरकारका मन्त्रीहरु स्पष्ट नीति र योजना नहुँदा अलमलमै रहेको प्रतिपक्षी नेता दलबहादुर रावतको भनाइ छ ।

हालसम्म प्रदेशले १५ ओटा कानुन पारित गरिसकेको छ । यता, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने सरकार कानुन निर्माण र विकास निर्माणलाई प्राथमिकता दिइएको दाबी गर्छन् । कर्मचारी र कार्यान्वयन संयन्त्र निर्माण गर्न समस्या भएपनि आफूहरु बजेट कार्यान्वयनमा लागिपरेको मुख्यमन्त्री भट्ट बताउँछन् ।

उसो त सरकार काम गराइप्रति जनअसन्तुष्टि र गुनासो भने बढ्न थालेको छ । सरकारका आश्वासन तत्कालै पुरा गर्न सम्भव नभए पनि कामका सुरुवाती शुभलक्षण देखिनुपर्ने समय भने भएकै हो ।  विकास र समृद्धिको वास्तविक स्वाद खोजेका जनताले अब भने भाषण र कुराले मात्रै पत्याउनेवाला छैनन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्