बोस्टन । यहाँको एक अदालतले नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक–पटक बलात्कार गरेको अभियोग लगाएको छ । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
उक्त मुद्दा हेर्ने सरकारी वकिलका अनुसार बोस्टनको एभरेट टाउनमा बस्ने ४६ वर्षीय अभियुक्त नवराज कोइरालाले एक बालिकालाई ९ देखि १४ वर्षको उमेरमा पटक–पटक बलात्कार गरी ज्यान मार्ने र यो कुरा अरुलाई भनेमा सबै परिवारलाई मारी आफू पनि मर्ने धम्की दिँदै आएका छन् ।
बोस्टनस्थित म्यासाच्युसेट्स सुपेरियर कोर्ट उबर्नमा बसेको तीनदिने ११ सदस्यीय जुरीले गत जुलाई ७ मा एक निर्णय गर्दै अभियुक्तलाई तुरुन्त कोर्टमा उपस्थित गराउन आदेश दिएको छ । तर यसअघि प्रहरीसँग आफ्नो कर्तुत पुगेको शंका पाउनासाथ अभियुक्त नेपाल भागेको बताइएको छ ।
अदालतबाट हालै जारी सार्वजनिक सूचना (जुन यहाँको समर्भिल विक्ली न्युज पपेरमा समेत प्रकाशित छ) का अनुसार कोइरालाले बालिकालाई कठोर यातनासहित जबरजस्ती बलात्कार गरेको, १४ वर्षभन्दा कम उमेरकी बालिकालाई संघातिक आक्रमण र हमला गरेको, कोर्टको आदेश उल्लंघन गरेकोजस्ता संगीन आरोप लगाइएको छ ।
अनुसन्धान, अदालती प्रक्रिया र जुरीको निर्णयजस्ता कुरालाई बोस्टनस्थित पीडित परिवारले पनि यो संवाददातासँग कुरा गर्दै स्वीकार गरेको छ ।
परिवारका सदस्यहरूले अभियुक्त भागे पनि एक दिन आफूहरूले न्याय पाउने आशा व्यक्त गरेका छन् । यो मुद्दाको सम्पूर्ण जिम्मा जिल्ला सरकारी अटरनीको कार्यालयले लिएको पारिवारिक स्रोतले जनाएको छ ।
हाम्रा विशेष संवाददाताले सरकारी अटरनी मेघन म्यकार्थीलाई सम्पर्क गर्दा घटनाको सत्यतालाई स्वीकार गर्दै अदालतको निर्णय र आरोपलाई इमेलमार्फत पुष्टि गरेकी छन् ।
सुपेरिअर कोर्ट र एभरेट प्रहरीले वारेन्ट जारी गर्नुभन्दा अगाडि नै आफ्नो जघन्य अपराधको अनुसन्धान हुँदै गरेको सुइँको पाउनासाथ गत नोभेम्बरको अन्त्यमा अभियुक्त न्युयोर्कदेखि दिल्ली उडेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
अमेरिकी नागरिक निज अभियुक्त दिल्लीबाट स्थल मार्ग हुँदै बिनाभिसा नेपाल प्रवेश गरेको र करिब ११ महिना बिनाभिसा नेपालमा लुकेर बसेको बताइएको छ । निज अभियुक्तले नेपालमा पनि अन्य दुई जघन्य अपराध गरेको अनुसन्धानबाट देखिएको छ । नेपाल समाचारपत्र दैनिक
प्रतिक्रिया दिनुहोस्