२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


मिलनलाई १५औं धर्मश्री उपाधि


0
Shares

काठमाडौं, असोज २० । नेपाल व्यायाम मन्दिरका मिलन सिजापतीले १३औं धर्मश्री विजेता तथा ५०औं एसियन च्याम्पियनसिपका स्वर्णपदकधारी महेश्वर महर्जनललाई पछाडि पार्दै १५औं धर्मश्रीको उपाधि जितेका छन् ।

८० केजीमाथिको तौलमा प्रतिस्पर्धा गरेका सिजापतीले नगद पाँच लाखसहित ब्यानेट तथा ट्रफी प्राप्त गरे ।

दोस्रो भएका ८० केजी तौल समूहका सेप फिटनेसका महेश्वरले नगद दुई लाखसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

तेस्रो स्थानमा ६५ केजी तौल समूहका नेपाल व्यायाम मन्दिरका रामबहादुर दाहाल रहे । उनले नगद एक लाखसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

नेपाल व्यायाम मन्दिरद्वारा आयोजित धर्मश्री प्रतियोगितामा चौथो स्थानमा सेप टु ढल्कोका प्रवेश श्रेष्ठ रहे । उनले नगद ९० हजारसहित ट्रफी प्राप्त गरे । उनी ७५ केजी तौल समूहमा प्रथम हुँदै धर्मश्रीका लागि छनोट भएका थिए ।

यस्तै, पाँचौं स्थानमा ७० केजी तौल समूहका नेपाल व्यायाम मन्दिरका सन्जीव श्रेष्ठ रहे । उनले नगद ८० हजारसहित ट्रफी प्राप्त गरे ।

छैटौं स्थानमा रहेका ६० केजी तौल समूहका व्यायाम मन्दिरका आशिष देवाजुले नगद ७५ हजारसहित ट्रफी प्राप्त गरे ।

यस्तै, सातौं स्थानमा ५५ केजीका व्यायाम मन्दिरका सुरेश खत्री रहे । उनले नगद ६० हजारसहित ट्रफी प्राप्त गरे ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ५५ केजी तौलमा उज्जल जिम तथा जुम्बाका किसनदास दिवाकर दोस्रो र मसल मेनियाका अवाज प्याकुरेल तेस्रो भए ।

सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा ६० केजी तौल समूहमा फिटनेस स्टुडियोका गौरभप्रसाद श्रेष्ठ र नेपाल व्यायाम मन्दिरका सुजन तामाङ दोस्रो र तेस्रो भए ।

६५ केजी तौल समूहमा फिटनेस फर्स्टका रोजिन बज्राचार्यले दोस्रो स्थान प्राप्त गरे । फिटनेस स्टुडियोका सुपेन डंगोलले तेस्रो स्थान हासिल गरे ।

७० केजी तौलमा अक्सफोर्ड जिमका समिर श्रेष्ठले रजतपदक पाए । यसैगरी, सेप टु ढल्कोका उज्जल राज बज्राचार्यले कास्यमा चित्त बुझाए ।

प्रतियोगिताको ७५ केजी तौलमा ग्यालेक्सी फिटनेसका ललित धिमाल दोस्रो र रिभर फिल्ड फिटनेसका अशोक महर्जन तेस्रो भए ।

८० केजी तौलको समूहमा फिटनेस स्टुडियोका प्रविन शाहीले रजत र सेप टु ढल्कोका विशाल कँडेलले कास्य पाए ।

यसैगरी, ८० केजीमाथिको ‘हेभीवेट’मा नेपाल व्यायाम मन्दिरका ग्रिस महर्जनले रजत पाए भने कम्पिल्टी हेल्थ क्लबका अनोज मास्केले कास्यमा चित्त बुझाए ।

तौल समूहमा दोस्रो तथा तेस्रो हुनेले क्रमशः नगद ३० र २० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वरक्षामन्त्री तथा सांसद भीमसेनदास प्रधानलगायतले पुरस्कार वितरण गरेका थिए ।

वि.सं. २०४२ सालमा १५ हजार पुरस्कार राशीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५औं संस्करणसम्म आइपुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिता भएको छ ।