कुश्मा, असोज २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले सोचेअनुसार देश समृद्धिको बाटोमा अघि बढ्न नसके पनि डुबिहाल्ने अवस्थामा नरहेको बताएका छन् ।
जनताका अपेक्षा असीमित रहेको र राजनीतिक संक्रमणबाट भर्खर देशले मुक्ति पाएकाले तीव्रगतिमा अघि बढ्न केही समय लाग्ने बताउँदै उनले प्रतिपक्षले भनेजस्तो देश तत्काल डुबिहाल्ने अवस्थामा नरहेको बताएका हुन् ।
पर्वतको कुश्मामा शनिबार आयोजना गरिएको नवराज बरालको उपन्यास ‘नाम’को परिचर्चा कार्यक्रममा पौडेलले भने–‘प्रतिपक्षले सोचेजस्तो देश डुब्ने अवस्थामा छैन । तर, अपेक्षा गरेअनुसार अघि बढ्न समय लाग्छ ।’
उनले भने–‘भर्खर राजनीतिक संक्रमणको अन्त्य भएको छ । छिट्टै महसुस हुनेगरी समृद्धि र विकासको महसुस गर्न सकिन्छ ।’
कार्यक्रममा सांसद तथा युवा नेता पदम गिरीले वामपन्थीको सरकारले केही गरेन भन्नु कांग्रेसको झुटको खेती भएको आरोप लगाउँदै नतिजा आइहाल्ने समय नभएको बताए । रासस









प्रतिक्रिया दिनुहोस्