बिराज रोस्यारा (इमेज)
कैलाली, असोज २० । बलात्कार, हत्याजस्ता जघन्य अपराधका शृंखला बढ्दै गएपछि कैलालीको धनगढीमा किशोरी–महिलालाई आत्मरक्षासम्बन्धी तालिम दिन सुरु गरिएको छ ।
राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले प्रदेश नम्बर–७ को आयोजनामा तालिम दिन सुरु गरेको हो ।
सातदिने शिविरको शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।
मुख्यमन्त्री भट्टले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएको बताउँदै तालिम अत्यन्त फलदायी हुने विश्वास व्यक्त गरे ।
उनले महिलाहरु असुरक्षित भइरहेका बेला आत्मरक्षाको सीप सिक्न जरुरी रहेको उल्लेख गरे । यसलाई अभियानकैरुपमा सन्चालन गरिनुपर्ने उनको भनाइ थियो ।
महिला हिंसा न्यूनीकरणका लागि प्रदेश सरकारले कार्यक्रम तयार गरिरहेको जानकारी पनि उनले दिए ।
प्रदेशभित्र अझैपनि बलात्कार, छाउपडी, बोक्सी आरोप लगाउनेलगायत महिला हिंसाका घटना भइरहेको भन्दै मुख्यमन्त्री भट्टले त्यसको न्यूनीकरणका लागि प्रदेश सरकारले जनप्रतिधिहरुको नेतृत्वमा चाँडै नै अभियान सन्चालन गर्ने बताए ।
उनले यो तालिमले महिलाहरुमा आत्मबल बढाउने विश्वास व्यक्त गरे ।
‘प्रदेश सरकार महिला हिंसा न्यूनीकरणमा गम्भीरतापूर्वक लागेको छ’–उनले भने–‘हिंसा न्यूनीकरणमा सबैको सहकार्य आवश्यक छ ।’
धनगढीबाट सुरुआत गरिएको यो अभियानलाई मुलुकका सबै प्रदेशमा सन्चालन गरिने आयोजकको भनाइ छ ।
पहिलोपटक १०० जना प्रशिक्षक उत्पादन गर्ने र उत्पादित प्रशिक्षकले हरेक स्थानीय तहमा गएर आफूले सिकेको सीप अरुलाई सिकाउने राष्ट्रिय गोजुरियो कराँते दो संघका महासचिव प्रकाशकुमार चन्दले बताए ।
उनले धनगढीमा एक हजारजनालाई तालिममा सहभागी गराउने उद्देश्य राखेको भएपनि १३ सयभन्दा बढीको सहभागिता रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्