Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैन : उपप्रधानमन्त्री पोखरेल


0
Shares

काठमाडौं, असोज २० । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर–४ ले शनिबार निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत् सुकेधारामा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सबै नागरिकको कर्तव्य भएको बताए ।

विभिन्न आवरणमा सार्वजनिक सम्पत्ति कब्जा हुनसक्नेतर्फ सचेत गराउँदै उनले भने–‘सार्वजनिक सम्पत्ति हडप्न राजनीतिक दलका छाता ओढेका व्यक्ति, उच्च ओहोदाका कर्मचारी, सामाजिक सेवामा योगदान गरेका र धार्मिक आवरण बोकेको व्यक्ति लाग्न सक्छन् । सार्वजनिक सम्पत्ति रक्षाका लागि वडा कार्यालय सजग हुनुपर्छ ।’

नीति, विधि र संरचनामा देखिएका समस्या समाधान गर्नु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ थियो ।

विगतका चलन–चल्तीको बुझाइ, माग र आग्रहद्वारा निर्देशित हुँदा विकास निर्माण अलपत्र पर्नसक्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले भने–‘योजना, नीति कार्यान्वयन गर्दा परिभाषित संस्थाले परिभाषित काम गर्न सक्नुपर्छ । पार्टीका नेता तथा जनप्रतिनिधि एवं समाजका सचेत नागरिकले पनि आफूलाई त्यसअनुरुप ढाल्नुपर्छ ।’

प्रदेश नम्बर–३ का प्रदेशसभा सदस्य नारायण सिलवालले जनतालाई आवश्यक सेवा, सुविधा र सहयोग उपलब्ध गराउन जनतासँग जनप्रतिनिधि अभियान सन्चालन गरिएको जानकारी दिँदै जनप्रतिनिधि जहिले पनि जनतासँगै हुने बताए ।

धोवीखोला करिडोरमा ढल निकासको उचित प्रबन्ध नहुँदा डुबानको समस्या देखिएको उल्लेख गर्दै उनले गलत संरचना निर्माण गर्ने निर्माण व्यवसायी, प्राविधिकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए ।

वडा नम्बर–४ का वडाध्यक्ष मोहन विष्टले जनताका माग तथा भावना र वडाभित्र देखिएका समस्या समाधान गर्न आफू लागिपरेको बताए ।

उनले भने–‘वडा तहबाट हुने समस्या वडा कार्यालयबाटै समाधान हुन्छ । ठूलो समस्या आइपरे प्रदेश सरकार र संघीय सरकारबाट समस्याको समाधान गरिन्छ ।’

कार्यक्रममा सो क्षेत्रका नागरिक अगुवाले ढल, खानेपानी, सडक कालोपत्रेलगायत विकास निर्माणकाक्रममा देखिएको समस्या समाधान गर्न आग्रह गरेका थिए । रासस