काठमाडौं, असोज १९ । डिफेन्डिङ च्याम्पियन नेपालले बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो खेलमा शनिबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ ।
बुधबार भएको समूह चरणको पहिलो खेलमा ताजिकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न शनिबारको खेल जित्नैपर्नेछ ।
शनिबार बंगलादेशको सिल्हेट डिस्ट्रिक रंगशालामा साँझ ६ः१५ बजे सुरु हुने खेलमा नेपाल सेमिफाइनलमा पुग्न प्यालेस्टाइनलाई २–० गोलभन्दा बढीको अन्तरमा पराजित गर्नुपर्नेछ ।
अघिल्लो खेलमा तीन डिफेन्डर घाइते भएपछि नेपाल थप दबाबमा छ । ताजिकिस्तानविरुद्धको खेलमा नेपालका कप्तान विराज महर्जन, अनन्त तामाङ र आदित्य चौधरी घाइते भएका थिए । उनीहरु तीनैजना प्यालेस्टाइनविरुद्धको खेलमा मैदानबाहिरै रहनेछन् ।
समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजिकिस्तान छन् । समूह ‘बी’मा आयोजक बंगलादेश, फिलिपिन्स र लाओस छन् ।
साविक विजेताका नाताले नेपालले यसपटक सोझै बंगबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो ।
यसअघि, प्यालेस्टाइनले बिहीबार भएको आफ्नो पहिलो खेलमा ताजिकिस्तानलाई २–० गोलले हराएको थियो । यो अवस्थामा नेपाललाई सेमिफाइनल पुग्न प्यालेस्टाइनलाई कम्तीमा २–० गोलले हराउनुपर्ने बाध्यता छ ।
समूह ‘ए’मा रहेको नेपालको शून्य अंक हुँदा प्यालेस्टाइन र ताजिकिस्तानको समान ३/३ अंक रहेको छ । प्यालेस्टाइनसँग बराबरीमात्र भए नेपाल समूह चरणबाटै बाहिरिनेछ । नेपालले प्यालेस्टाइनलाई २–० गोलले हराए समूहका तीन टिमकै समान ३/३ अंक हुनेछ ।
यस्तो अवस्थामा ‘फेयर प्ले’ वा टस गरेर अन्तिम चारमा पुग्ने दुई टोलीको छिनोफानो हुनेछ ।
फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेको प्यालेस्टाइनलाई पराजित गर्न नेपाललाई कठिन हुने देखिन्छ । नेपाल १६०औं स्थानमा रहँदा प्यालेस्टाइन १००औं स्थानमा छ ।
नेपाल र प्यालेस्टाइनबीच पछिल्लोपटक सन् २०१२ को एएफसी च्यालेन्ज कपमा प्रतिस्पर्धा भएको थियो । दशरथ रंगशालामा भएको खेलमा नेपाललाई प्यालेस्टाइनले २–० गोलले हराएको थियो ।
नेपाली टोलीमा गोलकिपर विकेश कुथू, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेन्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ तथा अन्जन विष्ट छन् । रासस
प्रतिक्रिया दिनुहोस्