सरोज अधिकारी (इमेज)
काठमाडौं, असोज १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद शीर्ष तहमै देखिने गरी छताछुल्ल हुनथालेको छ ।
आफू देशबाहिर भएका बेला पार्टीका वरिष्ठ नेताहरुले नै सरकारको आलोचना गरेको विषयलाई प्रधानमन्त्रीले ‘पुरानो गीतको सम्झनामात्र’ भएको हल्का टिप्पणी गरेपछि अब वरिष्ठ नेता नेपालको के जवाफ आउँछ ? सबैको प्रतिक्षा छ ।
प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्कमा रहेका बेला नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा दिएको अभिव्यक्तिले राजनीतिक बजार एकाएक तातियो ।
अझ नेकपाका स्थायी समिति सदस्यहरुको भेला बोलाएर नेता नेपालले छलफल गरेपछि पार्टीभित्र गम्भीर संकट नै उत्पन्न भएको सन्देश बाहिर गयो ।
पार्टीभित्र गुट, उपगुट हुनु र त्यसकै आधारमा एकार्कालाई आन्तरिक बैठकहरुमा खुइल्याउनु नेपाली राजनीतिमा अनौठो विषय होइन ।
तर, सरकारमै पार्टी रहेका बेला सकभर सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएर आलोचना गर्ने प्रचलन खासै छैन ।
बरु, आन्तरिक बैठकहरुमा आलोचना गर्ने र सार्वजनिक समारोहमा सरकारको बचाउ गर्ने गरिन्छ ।
तर, नेकपाभित्रको विवाद केन्द्रीय तहमै देखिएपछि भित्रभित्रै त्यो भुसको आगोजस्तो तल्लो तहमासमेत पुगिसकेको छ ।
असोज ११ गते वरिष्ठ नेता नेपालले संसदको ‘रोस्टम’बाटै सरकारको आलोचना गरेपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको हो ।
नेता नेपालले सरकारले कुनैपनि काम गर्न नसकेको भन्दै ‘देश नै डुब्न लागेको’ टिप्पणी गरेका थिए ।
अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि सरकारले काम गर्न नसकेको र त्यसबारे पार्टीमा गम्भीर समीक्षाको खाँचो रहेको भन्दै बैठक बोलाउन माग गरे ।
वरिष्ठ नेताहरुबाट आएका यी अभिव्यक्तिहरुप्रति प्रधानमन्त्री गम्भीर हुनुपर्ने थियो ।
तर, बिहीबार प्रधानमन्त्री स्वदेश फर्कंदै गर्दा नेताहरुले उठाएको विषयलाई जुन ढंगबाट जवाफ दिए, त्यो केबल ख्याल–ठट्टाजस्तोमात्र देखियो ।
यद्यपि, सरकार र पार्टी अध्यक्षको कार्यशैलीबारे देशभित्र उठेका प्रश्नमा अमेरिकाबाटै जवाफ दिन सुरु गरेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एअरपोर्टमा दिएको अभिव्यक्ति अपेक्षितभन्दा कम धारयुक्त नै थियो ।









प्रतिक्रिया दिनुहोस्