वासिंटन, असोज १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरेका ब्रेट काभानोगको नाम सिनेटले अनुमोदन गर्ने चरणमा पुगेपछि अमेरिकामा व्यापक विरोध प्रदर्शन भएको छ ।
काभानोगलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका सयौँलाई प्रहरीले वासिंटनबाट पक्राउ गरेको छ । काभानोगमाथि उनी किशोरावस्थामा रहेका बेला यौन हिंसा गरेको आरोप लागेको छ ।
सिनेटका रिपब्लिकन सांसदले संघीय जाँच व्यूरोको रिपोर्टले काभानोभले यौन हिंसा गरेको भन्ने आरोपलाई पुष्टि गर्न नसकेको जीकिर गरेका छन् । योसँगै सिनेटमा उनको नियुक्ति अनुमोदनको पक्षमा मतदान हुने सम्भावना बलियो देखिएको छ ।
यस सम्बन्धमा सिनेटमा शुक्रबार पहिलो चरणको मतदान हुँदैछ ।
उता, डेमोक्रेटिक सिनेटरहरुले भने पाँच दिनको सोधपुछ अपूर्ण रहेको बताएका छन् । सम्पूर्ण प्रक्रियालाई ह्वाइटहाउसले सीमित गर्न खोजेको उनीहरुको आरोप छ ।
सिनेटले न्यायाधीशमा काभानोभलाई अनुमोदन गरे सर्वोच्च अदालतमा परम्परावादीहरुको उपस्थिति बलियो हुने देखिन्छ । गर्भपतन, व्यक्तिगत हतियार राख्ने र मतदानजस्ता विषयमा त्यस्ता न्यायाधीशहरुको राय अन्तिम हुने र यसले राष्ट्रपति ट्रम्पलाई थप शक्तिशाली बन्न सहयोग पुग्ने देखिन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्