वासुदेव वर्मा
कपिलवस्तु, असोज १९ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका केही गाउँमा खानेपानीको चरम अभाव देखिएको छ ।
दुई सातादेखि नलबाट पानी आउन छाडेपछि गाउँका दुई सयभन्दा बढी परिवार खोलाको फोहोर पानी पिउन बाध्य छन् ।
बुद्धभूमि नगरपालिका– १० स्थित देउपुरा, लोहरौला, गजरैया, पोखरहवा, झलवा र नयाँ बस्ती टोलमा यतिबेला खानेपानीको संकट देखिएको छ । सोही गाउँनजिकैको पिपरहवामा भूमिगत सिँचाइ योजना दाङ, घोराहीले ठूलो बोरिङ जडान गरेपछि गाउँको नलबाट पानी आउन छाडेको देउपुरावासी बताउँछन् ।
दुई सातादेखि नलमा पानी नआएपछि पिउने पानीको अभाव भएको स्थानीयको गुनासो छ ।
पानी अभाव हुँदा तरकारीबालीमा सिँचाइ गर्न समेत समस्या भइरहेको छ भने पानी नपाएर विरुवा पनि पहँेलिन थालेका छन् । पानीको अभावमा गाइवस्तुलाई पानी खुवाउन, खाना पकाउन, सरसफाइ गर्न निकै असहज भइरहेको छ ।
अर्कोतिर खोलाको पानी पिँउदा बिरामी पर्न थालेको देउपुराका फुलचन्द केवट बताउँछन् ।
गाउँमा पानीको समस्या आएपछि ईटा उद्योगमा चलाईएको ठुलो बोरिङका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । तर सोनु इँटा उद्योगका मालिक महबुव मिया भने पिपराहवामा लगाइएको ठुलो बोरिङ इँटा उद्योगको नभएको दाबी गर्छन् ।
एउटा आयोजनाले अर्को आयोजनालाई असर पार्ने वा नपार्ने विषयमा संवेदनशील भइदिए यस्ता समस्या आउने थिएनन् । खानेपानीको समस्यालाई हल गर्न तत्काल जिम्मेवार पक्षले विकल्प खोज्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्