२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


नेपाल–कतार व्यापार प्रवर्धनमा जोड


0
Shares

काठमाडौं, असोज १७ । नेपालका लागि कतारका राजदूत युसुफ विन अल हेलले नेपालको कतारसँगको व्यापार घाटालाई कम गर्न कतारले आगामी दिनमा थप पहल गर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा गरेको नेपाल–कतार आर्थिक सम्बन्धका सम्भावना र अवसरसम्बन्धी छलफल कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

उनले कतार–नेपाल महत्वपूर्ण सम्बन्ध रहेको भन्दै चार लाखभन्दा बढी नेपालीहरु कतारमा श्रम गरिरहेको र यसबाट हरेक वर्ष करिब दुई खर्बरुपैयाँ नेपाल भित्र्याएर नेपालको अर्थतन्त्रमा टेवा पुगिरहेको बताए ।

नेपाल र कतारबीच ’कतार ऐयर वेज’को प्रतिदिन हुने पाँचओटा उडानले दुई देशको ‘कनेक्टिभिटी’को अवस्थालाई दर्शाएको पनि उनले उल्लेख गरे ।

कतारले नेपालसँग आगामी दिनमा कृषि र लगानी संरक्षणसम्बन्धी सम्झौता गर्ने कुरालाई ध्यानमा राखेको पनि उनले बताए ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र कतार दुवै देशहरु प्राकृतिक स्रोतमा धनी भएको र व्यापार, पर्यटन, कृषि तथा मानवीय स्रोतको परिचालन र आपसी सहकार्यमा प्रचुर सम्भावना र अवसर रहेकाले यसको सदुपयोग गर्ने बेला आएको बताए ।

नेपाल–कतार व्यापारलाई सन्तुलनमा ल्याउने कुरा मुख्य प्राथमिकताको विषय भएको र सोहीअनुसार कृषि, पर्यटन र उद्योगमा कतारबाट नेपालमा भइरहेको लगानीमा वृद्धि हुनुपर्नेमा उनले जोड दिए ।