२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


कैलालीको सुरक्षा योजना सार्वजनिक


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असोज १७ । बडादसैं र तिहारलाई लक्षित गर्दै कैलाली प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधबार पत्रकार सम्मेलन गरी सुरक्षा योजना सार्वजनिक गरिएको हो ।

चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि ‘दसैं विशेष सुरक्षा योजना’ बनाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

दसैं विशेष सुरक्षा योजनाअन्तर्गत् चेकजाँचमा कडाइ, बैंक तथा वित्तीय संस्था, सार्वजनिकस्थललगायतका स्थानमा सादा पोसाकमा प्रहरी परिचालन, कुनै स्थानमा घटना भएको खन्डमा तत्काल प्रहरी पुग्नेगरी सुरक्षा योजना बनाइएको उनले बताए ।

चाडपर्व मनाउन भारतबाट फर्किएका नेपालीहरुलाई सीमा क्षेत्रमा सहयोग पुगोस् भन्नका लागि नागरिक सहायताकक्षसमेत स्थापना गरिने भएको छ ।

यस्तै, सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरहरुबाट चेकजाँच गर्ने प्रबन्ध मिलाएको प्रहरीले जनाएको छ ।

चाडपर्वका बेलामा हुनसक्ने सवारी दुर्घटना, यात्री ठगिनेलगायतका विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले विभिन्न स्थानमा ‘सरप्राइज’ चेकजाँच गर्ने जनाएको छ ।

यस्तै, यातायात व्यवस्था कार्यालय कैलालीका कर्मचारीहरुसमेतको सहभागितामा बसपार्कहरुमा ‘हेल्पडेक्स’हरु स्थापना गरेर यात्रीहरुलाई पर्ने समस्या समाधानमा सहयोग गरिने जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक अनिल उप्रेतीले बताए ।