काठमाडौं, असोज १६ । चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौंमा जारी आदिआवादी महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
नेपाल भलिबल संघ र भारतको आदिआवादि फाउन्डेसनको आयोजनामा जारी प्रतियोगिताको मंगलबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चितवन फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कबर्डहलमा भएको खेलमा चितवनले पुलिसलाई २५–११, २५–१४ र २५–२३ सोझो सेटमा पराजित गर्यो ।
मंगलबारै भएको अर्को सेमिफाइनलमा सशस्त्रले न्यू डायमन्ड एकेडेमीलाई ३–० कै सेटमा हरायो । सशस्त्र २५–२२, २६–२४ र २५–२३ ले विजयी भयो ।
उपाधि भिडन्त बुधबार दिउँसो हुनेछ ।
भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले तीन लाख र तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एकथान स्कुटर र नगद ५० हजार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्