सुरेन्द्रबहादुर नेपाली (रासस)
सान होजे, असोज १६ । प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ ।
वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न पाएको र भ्रमणका लागि यसभन्दा उपयुक्त समय नभएको बताए ।
उनले कोस्टारिकाले आर्थिक, वातावरण संरक्षण, मानवाधिकारजस्ता विषयमा निकै प्रगति गरेको आफूले देखेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले आफूले पिरिस जलविद्युत् परियोजना तथा वायुऊर्जा संयन्त्र हेर्ने मौका पाएको, शान्ति विश्वविद्यालयमा मानार्थ विद्यावारिधिको उपाधि स्वीकार्दा शान्ति तथा सामाजिक–आर्थिक विषयमा छलफल गर्न पाएको जानकारी दिए ।
उनले दुई देशबीच सम्बन्ध तथा सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको र त्यसमा गरिबी निवारण, दिगो विकास, वातावरण संरक्षण, स्वच्छ ऊर्जा र अन्य विषय समेटिएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले दुई नेतृत्वबीच नेपालको प्राथमिकता, ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य, वातावरणीय परिवर्तन, महिला सशक्तीकरण, प्रजातन्त्र, सुशासन, निःशस्त्रीकरण आदि विषयमा पनि छलफल भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति क्वेसाडा तथा प्रथम महिलालाई उपयुक्त छिटो समयमा नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् ।
प्रधानमन्त्री ओली तथा राष्ट्रपति क्वेसाडाबीच छुट्टै एकल वार्तासमेत भएको थियो । यसपछि दुई मुलुकबीच प्रतिनिधिमन्डलस्तरमा वार्ता भएको थियो ।
कोस्टारिकाका प्रथम महिला क्लाउडिया डोबल्स कामार्गोले पनि प्रतिनिधिमन्डलसँग भेट गरेकी थिइन् । उनले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसँग छुट्टै वार्ता गरेकी थिइन् ।
प्रधानमन्त्री ओली राष्ट्रपति क्वेसाडासँग भेटवार्ता गर्न सोमबार कोस्टारिका कला संग्रहालय आइपुग्दा उनलाई प्रथम उपराष्ट्रपति तथा विदेश मामिलामन्त्री एप्सी क्याम्पबेल बारले स्वागत गरेका थिए ।
स्वागतपछि दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । प्रधानमन्त्री ओलीले सोमबारै कोस्टारिका कला संग्रहालयको अवलोकन गरे ।
सान होजेको पुरानो विमानस्थलमा रहेको ला सबाना उद्यानमा सो संग्रहालय अवस्थित छ । संग्रहालयमा ६ हजार कला सजाइएको छ । यो स्थायी संग्रहालय हो र यसले कहिले–काहीँ अस्थायी प्रदर्शनी पनि आयोजना गर्छ ।
यहाँ ल्याटिन अमेरिकाका कलाकार जासे साञ्चो, म्याक्स जिमेनेज, फ्रान्सिस्को जुनिगा तथा जर्ज जिमेनेज देखेदियाजस्ता कलाकारका कला प्रदर्शनीमा राखिएको छ ।
यहाँ कोस्टारिकाका प्रायः सबै कला प्रदर्शनमा छन् भने विश्वभरका करिब ५६० समसामयिक कला पनि राखिएका छन् ।
संग्रहालयको बाहिरी भागमा मूर्तिकला सजाइएको छ । यहाँ फ्रान्सेली कलाकार लुइस फेरोनको पनि कला सजाइएको छ ।
सोमबारै कोस्टारिकाका राष्ट्रपति क्वेसाडा तथा प्रथम महिलाले प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी शाक्य तथा नेपाली प्रतिनिधिमन्डलको सम्मानमा रात्रिभोजको आयोजना गरिन् ।
प्रधानमन्त्री ओलीसँग उनका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्