काठमाडाैं । नेपाली काँग्रेसकी नेतृ डिला संग्रौला पन्तले कांग्रेसको रुपान्तरणको लागि संगठनमा लामो समयदेखि काम गरेका कार्यकर्ताको मूल्यांकन हुनुपर्ने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भुइँ तहमा काम गर्ने कार्यकर्ताको योगदानको मूल्यांकन नभएसम्म पार्टी रूपान्तरण सम्भव नहुने बताउनुभएको हो ।
उहाँले भुँई तहको कार्यकर्ताको योगदानको मूल्यांकन, शिक्षा सुधार, युवा नेतृत्वको विकास, संगठन सुदृढीकरण, पार्टी रूपान्तरण, सुशासन र महिला सशक्तीकरणलाई प्रमुख एजेण्डा बनाएर महामन्त्री पदमा उम्मेद्वारी दिएको बताउनुभयो ।
युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको उल्लेख गर्दै उहाँले शिक्षा र रोजगारीबीचको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थी र युवालाई काँग्रेसको राजनीतिमा जोड्दै नेतृत्व तहमा पु¥याउने विषय आफ्नो पहिलो एजेन्डा रहेको बताउनुभयो ।
युवाले खोजेको सुशासन, भ्रष्टाचारमा शुन्य सहनशीलता, चुस्त सेवा प्रवाह र रोजगारीको अवसर दिलाउनुपर्ने उहाँको भनाई छ । पछिल्लो राजनीतिक परिवर्तनसँगै काँग्रेसले पनि आफूलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘आजको शिक्षा नीति बेरोजगार शिक्षा नीति छ । युवाहरू ब्रेन ड्रेन भएर बाहिरिएका छन् । नेपालमा उनको सीप र लगानी गर्ने आधार छैन । त्यसैले मेरो उम्मेदवारी, आजको शिक्षा नीतिको संगसंगै विद्यार्थी, युवालाई काँग्रेसको राजनीतिमा कसरी जोड्ने, युवा मैत्री बनाउने र नेतृत्वमा ल्याउने पहिलो एजेन्डा हो । दोस्रो, नेपाली काँग्रेस भित्र, सङ्गठनभित्र, सानो तहदेखि अहिलेसम्म मेरो कार्यलाई हेर्ने हो भने सङ्गठनको विभिन्न निकायमा, वडा, क्षेत्र, जिल्ला, केन्द्र हुँदै राजनीति गरेको पनि आज ४० वर्ष बितेछ । सङ्गठनमा सशक्तीकरण हुनुपर्छ, सङ्गठनमा उर्जा हुनुपर्छ, सङ्गठनका काम गर्ने साथीहरूको मूल्याङ्कन हुनुपर्छ भन्ने मेरो सशक्त एजेण्डा हो । त्यसैले जबसम्म भुइँ तहमा काम गर्ने कार्यकर्ताको मूल्याङ्कन हुन्न, तबसम्म काँग्रेसमा रूपान्तरण हुन सक्दैन । त्यसैले रूपान्तरण मेरो प्रमुख एजेन्डा हो । जेन–जीको विद्रोह पछाडि नेपालको राजनीति परिवर्तन भयो । नेपालको राजनीतिले बेग्लै मोड लियो । हामीले सोच्यौं काँग्रेस यथास्थितिमा जान सक्दैन, त्यसैले काँग्रेसभित्र रूपान्तरण हुनुपर्छ भनेर गगन थापा नेतृत्वमा विशेष महाधिवेशन गरेर परिवर्तनको पक्षमा हामी उभियौँ । त्यो परिवर्तनले १५ औं महाधिवेशनमा आकार लिँदैछ । काँग्रेस सबैलाई समेट्ने मियो बन्दैछ । त्यसैले मेरो, तेस्रो एजेन्डा भनेको रूपान्तरण हो, परिवर्तन हो, परिवर्तन त्यसबेला सम्भव छ, जब सङ्गठनको रथ हाक्ने नेतृत्व सबल र सक्षम आउँछ ।
सबैले खोजिरहेका छन्, सुशासन हुनुपर्छ, भ्रष्टाचारमा शुन्य सहनशीलता । त्यो मुद्दालाई मुखरित गर्दै मैले जहिले पनि भन्ने गरेको छु, ४० सालको परिवर्तन पछाडि जति पनि उच्च तहमा पुग्ने चाहे नेतृत्वकर्मी हुन्, चाहे कर्मचारी हुन्, तिनको सम्पत्ति छानबिन हुनुपर्छ । आन्तरिक लोकतन्त्रभित्र पार्टीभित्र पनि आन्तरिक सुशासन हुनुपर्छ ।’ उहाँले अनुभवी, मध्यम पुस्ता र युवा पुस्तालाई जोडेर काँग्रेसलाई अघि बढाउनुपर्ने बताउनु भयो । काँग्रेसप्रति असन्तुष्ट मतदातालाई पुनः पार्टीसँग जोड्ने नीति आवश्यक रहेको बताउँदै उहाँले जनताको घरदैलोमा पुगेर संगठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
महिलातर्फ महामन्त्री पदका लागि आफूलाई समर्थन गर्न उहाँले काँग्रेसका पालिका, क्षेत्र तथा प्रदेश तहका सभापति, महाधिवेशन प्रतिनिधि तथा देश–विदेशमा रहेका काँग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्