शुभकला राई, ओखलढुंगा । बोका खरिद गर्ने क्रममा नक्कली नोट प्रयोग गरेको आरोपमा ओखलढुंगामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सुनकोशी गाउँपालिका–९, ककनीमा तीन वटा बोका खरिद गर्ने क्रममा नक्कली नोट प्रयोग गरेको पाइएपछि चम्पादेवी गाउँपालिका–स्थित सौरनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी राजबाबु महर्जनका अनुसार उनीहरूले स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङबाट तीन वटा बोका खरिद गरेका थिए। बोका खरिदबापत २८ हजार रुपैयाँ दिने क्रममा १९ हजार रुपैयाँ बराबरका एक हजार दरका १९ थान नक्कली नोट प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ। प्रारम्भिक सोधपुछका क्रममा उनीहरूले प्रयोग गरेको नक्कली रकम काठमाडौंँबाट ल्याएको खुलेको डीएसपी महर्जनले जानकारी दिनुभयो।
नक्कली नोटको स्रोत र कारोबारमा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्