Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


राजनीतिक परिवर्तन भएपनि आर्थिक–सामाजिक रूपान्तरण हुन सकेनः पूर्वअर्थमन्त्री पाण्डे


0
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पटकपटक राजनीतिक परिवर्तन भएपनि अपेक्षित आर्थिक तथा सामाजिक रूपान्तरण हुन नसकेको बताउनुभएको छ ।

ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै पाण्डेले २००७ सालदेखि हालसम्म भएका राजनीतिक परिवर्तनले आर्थिक रूपान्तरणको अपेक्षा पूरा गर्न नसकेको बताउनुभएको हो । उहाँले जेन–जी आन्दोलनको एक वर्ष बितिसक्दा पनि समाजमा अपेक्षित आशा पलाउन नसकेको भन्दै भ्रष्टाचार अन्त्य र स्वदेशमै रोजगारीको मागसहित भएको आन्दोलनको उद्देश्यअनुसार सुधार हुन नसकेको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्नुको साटो बढिरहेको तथ्यांक प्रश्तुत गर्नुभयो । गत वर्षको साउनमा ६८ हजार जनाले विदेश जान अनुमति लिएकोमा यस वर्ष सोही अवधिमा ७० हजारले अनुमति लिएको उहाँले बताउनुभयो ।

उहाँले नागरिकका मुद्दालाई प्राथमिकतामा राख्दै मूलधारमा पुर्‍याउन ‘नागरिक आवाज अभियान’लाई साझा मञ्चका रूपमा अघि बढाउने बताउनुभयो । अभियान राजनीतिक विकल्पका रूपमा अघि नबढाइएको स्पष्ट पार्दै उहाँले सरकारका कामकारबाहीको निरन्तर निगरानी गर्ने बताउनुभयो ।

पाण्डेले भन्नुभयो, ‘२००७ सालदेखि आजसम्म ७६ वर्षको अन्तरालमा अनेक पटक राजनीतिक परिवर्तन भए तर हाम्रो मुलुकले खोजेको राजनीतिकसँगसँगै आर्थिक रूपान्तरण भएन । सरकार जिम्मेवार, जवाफदेही बन्यो र सही काम गर्‍यो भने हामी समर्थन पनि गर्छौँ । त्यो नगर्दाखेरी हामी खबरदारी पनि गर्छौँ ।’

पाण्डेले अभियानलाई समयक्रमसँगै थप सुधार गर्दै नागरिकका सुझावका आधारमा अघि बढाइने बताउनुभयो ।