Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढ्दैन: अध्यक्ष सिटौला

आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट लिन यात्रुलाई आग्रह

0
Shares

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेसम्म सार्वजनिक यातायातको भाडा पनि नबढ्ने बताउनुभएको छ ।

यातायात व्यवस्था विभागले साेमबार चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष सिटौलाले यस्ताे बताउनुभएके हाे। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा चाडपर्वको समयमा मूल्यवृद्धि गर्न नहुने बताउनुभयाे। उहाँले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेमा सरकारले तोकेको सार्वजनिक यातायातको भाडादर नै कायम रहने स्पष्ट पार्नुभएकाे छ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएमा व्यवसायीले बाध्य भएर यातायात भाडा बढाउनुपर्ने अवस्था आउने अध्यक्ष सिटौलाले बताउनुभयो । उहँले चाडपर्वका समयमा तोकिएको भन्दा बढी भाडा असुल्ने अवस्था आउन नदिन यात्रुलाई पनि आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट लिन आग्रह गर्नुभएको छ ।