काठमाडौं, असोज १४ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले सुखद सुरुआत गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयको अन्तिम मिनेटमा संकटाका लक्ष्मण रुचालले गोल गरेका हुन् ।
लक्ष्मण म्यान अफ द म्याच बनेका छन् । खेलमा संकटाका दुई खेलाडीले पहेँलो कार्ड पाएका थिए ।
नेपाली राष्ट्रिय टोली बंगबन्धु गोल्डकप फुटबलमा सहभागी हुन बंगलादेश गएपछि शनिबारदेखि सुरु भएको लिग दुई खेल खेलेर रोकिएको छ । १४ क्लवबीचको भिडन्तको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लव र न्युरोड टिम (एनआरटी)ले २–२ को बराबरी खेलेका थिए ।
बंगबन्धुमा नेपालले गर्ने प्रदर्शनको आधारमा लिग बडादशैं अगाडि पनि हुन सक्ने म्याच कमिशनर संजीव मिश्रले जानकारी दिए । बंगबन्धु गोल्डकप असोज २६ गतेसम्म हुनेछ ।
नेपाल बंगबन्धु गोल्डकपको साविक विजेता हो ।
प्रतिक्रिया दिनुहोस्