बिराज रोस्यारा
कैलाली, असोज १४ । सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक प्रतिपक्षको अवरोधका कारण स्थगित भएको छ ।
आइतबार दिउँसो २ बजे बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले रोष्टम घेराउ गरि नाराबाजी गरेपछि स्थगित गरिएको हो । दुवै दलले सत्ता पक्षमाथि दुई तिहाईको दम्भ देखाउँदै मनोमानी ढंगले प्रदेशको नाम र राजधानी पारित गरेको आरोप लगाएका छन् ।
असोज १२ गतेको प्रदेशसभा बैठकले प्रतिपक्षको सहभागिता बिना प्रदेशको नाम र स्थायी राजधानी तोकेको भन्दै कांग्रेस र राजपाले बैठक अवरोध गरेका हुन् । बैठक सुरु हुनासाथ नाराबाजीसहित रोष्टम घेराउ गरेका कांग्रेस र राजपाले लोकतान्त्रिक पद्धति विपरित दुई तिहाईको दम्भमा नाम र राजधानी तोकिएकाले आफुहरुलाई मान्य नहुने बताएका छन् ।
कांग्रेसका नेता डिल्लीराज पन्तले प्रदेशसभाको बैठकमा बोल्दै प्रदेशसभा र प्रदेश सरकारले दुई तिहाईको दम्भ देखाएको बताए । उनले प्रतिपक्षको सहभागिता विना गरिएको निर्णय नमान्ने बताउँदै निर्णय नसच्चाउन्जेल संसदको अवरोध नहट्ने प्रष्ट पारे ।
सभामुख अर्जुनबहादुर थापाले दुई तिहाई मतका साथ प्रदेशसभा बैठकले गरेको निर्णय सच्चिने कुनै सम्भावना नरहेको बताए । उनले संसदको गतिरोध चाँडै अन्त्य हुनेमा आफु विश्वस्त रहेको बताए ।
असोज १६ गते बस्ने बैठक अघि नै प्रतिपक्षी दल सहमतिमा आउनेमा आफु आशावादी रहेको सभामुखको भनाइ छ ।
असोज १२ गतेको प्रदेशसभा बैठकले दुई तिहाई मतका साथ प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरेको थियो । प्रदेशको नाम र राजधानीको निर्णयसँगै सदनमा नेपाली कांग्रेस र राजपाले अवरोध गरिरहेका छन् भने धनगढीबासीले राजधानी धनगढी नै कायम हुनुपर्ने माग गर्दै अनिश्चितकालिन आमहड्ताल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्