काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपद्को घडीमा कृत्रिम तस्बिरको सहारा लिएर सस्तो लोकप्रियता कमाउन खोज्ने प्रवृत्तिको आलोचना गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष ओलीले अहिलेको मुख्य प्राथमिकता उद्धार, राहत तथा पुरिएका संरचनाबाट धनमाल निकाल्ने कार्यमा हुनुपर्नेमा जोड दिनुभयो । बाढीपहिरोका कारण देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्नुभएकाे छ। अध्यक्ष ओलीले प्रविधिको दुरुपयोग गरी कृत्रिम दृश्यहरू निर्माण गरेर प्रचारबाजीमा लाग्नेहरूप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,-‘यस दुःखद् घडीमा हजारौँको संख्यामा जीवनको क्षति र करोडौँको अनुपातमा धनमाल तथा संरचनाको विनाश भएको छ । यस्तो समयमा हामीले पीडितलाई अधिकतम सेवा पुर्याउनेतर्फ लाग्नुपर्छ । कोही एआईको सहायताले कृत्रिम दृश्यहरू चित्रण गरी आफूलाई जनताको सेवक देखाउन खोजिरहेका छन् । मैले पहिले पनि भनेको थिएँ, हामी यतिबेला लोकप्रिय हुने होइन, पीडितको सेवामा लाग्ने हो। कृत्रिम फोटोहरू खडा गरेर प्रचार गर्ने समय यो होइन ।’
अध्यक्ष ओलीले सम्पूर्ण ध्यान र सामथ्र्य राहत र पुनःस्थापनामा लगाउनुपर्ने बताउँदै प्रचारमुखी भन्दा सेवामुखी हुन सबैलाई आग्रह गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्