२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024


मन्त्रीकै स्वीकारोक्ति : समतामुलक समाज निर्माण गर्न सरकार असफल


0
Shares

 काठमाडौं, असोज १४ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समतामुलक समाज निर्माण गर्न सरकार सफल नभएको स्वीकार गरेकी छन् ।

समाजमा व्याप्त विकृति र विसंगति अन्त्य नभइसकेकाले समतामुलक समाजको निर्माण गर्न कठिन भएको मन्त्री थापाको भनाइ छ ।

काठमाडौंमा आजबाट सुरु भएको दोस्रो बालिका सम्मेलनमा मन्त्री थापाले संक्रमण अन्त्य भई राज्यको संरचनामा समेत परिवर्तन आए पनि व्यवहार र सोचमा परिवर्तन नआउँदा हिंसाका घटनाले समाजलाई आक्रान्त बनाएको बताइन् ।

मन्त्री थापाले मन्त्रालयले सबै स्थानीय तहमा समतामुलक र सुरक्षित समाज निर्माणका लागि अभियान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराइन् ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सुखी र समृद्ध नेपालको परिकल्पना साकार पार्न समाजलाई विकृत हुनबाट जोगाउन जरुरी भएको बताए । उनले बालिकाहरुमाथि हुने अपराधको निराकरण गर्न सामाजिक जागरण र सकारात्मक दबाव आवश्यक रहेको बताए ।

दोस्रो बालिका सम्मेलनको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले बालिकालाई विद्यमान सामाजिक विकृती र विसंगतीवाट जोगाएर चेतनशिल नागरिकको रुपमा विकास गर्नुपर्ने सन्देश दिएकी छन् ।

उनले बालबालिका माथि हुने हिंसाले आफुलाई मर्माहत पारेको भन्दैै यसको अन्त्यका लागि सबै जागरुक हुनुपर्ने सन्देशमा उल्लेख गरेकी छन् ।