बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ को झागाँझोली रातमाटामा १५ बेडको आधारभुत अस्पताल भवन निर्माणको काम सुरु भएको छ ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइरालाले आज आईतवार पुजापाठ गरेर शिलान्यास गरेसँगै अस्पताल भवन निर्माणको काम सुरु भएको हो । करिव ५-६ बर्ष अघि देखि १५ बेडको आधारभुत अस्पताल बनाउनको लागि प्रयास थालिएको भए पनि आवश्यक जग्गा अभाव लगाएत विभिन्न समस्याले गर्दा भवन निर्माण हुन सकेको थिएन । तर लामो समयको प्रयास पछि ती सबै समस्याहरु समाधान गर्दै गाउँपालिकाले १५ बेडको आधारभुत अस्पतालको सुविधा सम्पन्न भवन बनाउन सुरु गरेको छ ।
गाउँपालिकाले अस्पताल भवन बनाउनको लागि वडा नम्बर ३ को झाँगाझोली रातमाटामा घोर्मादेवी कबुलियत वन र रमादेवी सामुदायिक वन उपभोक्ता समितिको ७ रोपनी २ आना जग्गा संघिय सरकारबाट प्राप्त गरेपछि सोही जग्गामा अहिले अस्पताल भवन बनाउन थालिएको हो । आवश्यक पर्ने जग्गा प्राप्त गर्न प्रक्रिया मिलाउन र विभिन्न प्रशासनिक समस्याहरुले गर्दा अस्पताल भवन निर्माण गर्न ढिलाई भएको गाउँपालिकाले जनाएको छ ।
कुल १६ करोड ६३ लाख ५६३ रुपैयाँ लागतमा सुवेदी–की वेस्ट जेभी, मन्थली–१, रामेछापले अस्पताल भवनको निर्माणको जिम्मा पाएको छ । अस्पताल भवन निर्माणको लागि विस २०८२ साल पुष २५ गते गाउँपालिका र निर्माण कम्पनी बिच सम्झौता भएको छ । गाउँपालिकाको अनुसार सम्झौता अनुसार आगामी २०८४ पुष २५ गते भित्र निर्माण कम्पनीले अस्पताल भवन निर्माणको काम सक्नुपर्ने छ ।
भवनको शिलान्यास गर्दै सुनकोशी गाउँपालिकाका अध्यक्ष दाहालले २०७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित भए लगतै अस्पताल बनाउन निक्कै प्रयास गरे पनि जग्गा अभावकै कारण नसकिएको बताउनुभयो । पुन स्थानीय तहको दोस्रो निर्वाचनबाट पनि आफैले गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाए पछि निरन्तरको प्रयासमा ढिलै भए पनि अहिले अस्पताल भवन निर्माणको काम सुरु गरिएको अध्यक्ष दाहालको भनाई छ ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोइरालाले अस्पतालको भवन निर्माणको काम सुरु गर्ने चरण सम्म ल्याउन धेरै मेहनत गर्नुपरेको बताउदै सम्झौता अवधी भित्रै तोकिएको मापदण्डमा रहेर गुणस्तरीय भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले अस्पताल भवनको निर्माणको काममा गुणस्तरीय बनाउन पालिकाको तर्फबाट कुनै कसर बाँकी नराखिने बताउनुभयो । निर्माण कार्य तोकिएको मापदण्ड अनुसार गुणस्तरीय बनाउन स्थानीय नागरिक र गाउँपालिका एक–अर्कामा निकट रहेर अनुगमन, निरिक्षण गर्नुपर्नेमा उहाँको जोड छ ।
शिलान्यास कार्यक्रममा सुनकोशी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष चन्द्र बहादुर श्रेष्ठ, वडा नम्बर ४ का वडाअध्यक्ष यम बहादुर जर्गामगर, विभिन्न राजनितिक दलका नेता, स्थानीय बुद्धिजीवीहरुले पालिकास्तरमै नागरिकलाई अत्यावश्यक आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन समयै भवन निर्माणको काम सक्न सबै सरोकारवाला निकायहरु जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्