Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


तथ्य र प्रमाणका आधारमा अतिक्रमित भूमि फिर्ता गर्नेतर्फ सरकारको ध्यान जाओस्ः प्रवक्ता श्रेष्ठ


0
Shares

काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा अतिक्रमित भूमि फिर्ता गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै सन् १८१६ को सुगौली सन्धिले कालीनदी पश्चिमी भूभाग भारतलाई छाड्ने भनेको उल्लेख गर्दै उनले सुगौली सन्धिले महाकाली नदी र सोपूर्वका भूमि नेपाली भूमि मानेको दृष्टान्त पेश गरे ।

लिम्पियाधुराबाट बग्ने काली नदीलाई नै सीमा नदीका रुपमा भारतले यसअघिका आफ्नो नक्शामा समावेश गरेको उल्लेख गर्दै उनले सात दिनपछि भारतले नक्शामा काली नदी ‘डिलिट’ गरेको बताए ।

“यसले के पुष्टि गर्छ भने सुगौली सन्धिले निर्दिष्ट गरेको काली नदीपूर्वको भूमि नेपालकै हो”, उनले भने, “यही आधारमा सो भूमि नेपाली क्षेत्र हो भन्ने पुष्टि भएको छ, सुगौली सन्धिले निर्धारित गरेको भूमि हामीले कुनै अर्को सन्धि गरेर भारतलाई सुम्पेका छैनौँ ।”

कालापानीमा रहेको भारतीय सैनिक फिर्ता जानुपर्छ भन्नेमा दृढ अडान पेश गर्दै उनले वार्तामा बसेर विवाद समाधान गर्नुर्नेमा जोड दिए ।

छिटोभन्दा छिटो वार्तामा बसेर सीमा विवादलाई सल्टयाउन उनले भारतसँग आग्रह गरे ।

नेपालले कूटनीतिक वार्ता गर्न कुनै भाँजो नहालेको उल्लेख गर्दै उनले भारतको हेपाहा प्रवृत्ति सह्य नभएको बताए ।