काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदको मर्यादा कायम गर्ने जिम्मेवारी रास्वपाको भएकोले सांसदहरुले मर्यादा कायम राख्नुपर्ने बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी सांसदहरु मर्यादित हुनुपर्ने बताउनुभएको हो । उहाँले ठूलो राजनीतिक दलमा धेरै सांसद हुँदा बोल्ने क्रममा एक–दुई जनाबाट विवादित अभिव्यक्ति आउन सक्ने बताउनु भयो । यसलाई समग्र पार्टीको धारणा भनेर बुझ्न नहुने उहाँको भनाई छ ।
उहाँले पछिल्लो समय संसदमा पार्टीका सांसदहरूको प्रस्तुति, उठाइने विषय र सरकारका कामकारबाहीबारे आएका प्रश्नमाथि बुधवार सांसदहरुसंग आन्तरिक छलफल गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार सरकार, मन्त्रालय तथा मन्त्रीहरूका विषयमा पार्टीभित्र कुनै असन्तुष्टि भए त्यसबारे पनि छलफल गर्ने उद्देश्यले सांसदहरूसँग अन्तरक्रिया गरिएको बताउनु भयो । उहाँले सांसदहरुलाई मर्यादित ढंगले जनसवालका प्रश्नहरु उठाउन अभिमुखिकरण लगायतका कार्यक्रम आयोजना गर्ने पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा राजनीतिक दलभित्र र यदि धेरै सांसदहरु भएको ठूलो राजनीतिक दलभित्र कहिलेकाहीँ कुनै न कुनै विषय कसैले बोल्दाखेरि कतिपय कुरा चिप्लिन सक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ यताउता हुनसक्ने सम्भावना हुन्छ, संख्या नै यति धेरै हुनुहुन्छ, त्यसले गर्दा हुने हो । तर समग्रमा त्यस्तो होइन, त्यस्तो पनि बुझाइ गर्नु हुँदैन । एक–दुई जना साथीहरुको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ । त्यसलाई सम्हाल्ने हामी गरिहाल्छौँ, त्यस्तो केही छैन ।
आजको छलफलको मुख्य उद्देश्य संसदमा हामी जसरी प्रस्तुत भइरहेका छौँ, त्यो संसदमा प्रश्तुत हुने विषय, त्यहाँको प्रस्तुति, यी सबै विषयहरुमा कताकता आम नागरिकतहबाट पनि प्रश्नहरु आइरहेको, पार्टी पङ्क्तिले पनि अलिकति छलफल गर्नुपर्छ कि भनेर हो । हामी सबै एउटै ठाउँमा हुनुपर्छ । केही असन्तुष्टिहरु छन् कि ? सरकारका विषयलाई लिएर, मन्त्रालय, मन्त्री या कसैको विषयमा केही छ कि भनेर हामीले आन्तरिक छलफलहरु ग¥यौँ ।
संसदको मर्यादा कायम गर्ने जिम्मेवारी पनि हाम्रो रहन्छ । संसदमा मर्यादित ढङ्गले प्रस्तुत हुने, संसदमा उठ्ने विषयवस्तुहरु आम नागरिकको जीवनसँग जोडिएका विषयहरु हुने, यी सबै यावत कुराहरु जति पनि छन् त्यसलाई एकैपटक छलफल गर्ने र छलफल गरिसकेपछि एउटा बेटर अन्डरस्ट्यान्डिङका साथ अगाडि जाने भन्ने विषयमा आज छलफल भएको छ ।’
बैठकमा प्रधानमन्त्री तथा रास्वपाका संसदीय दलका नेता बालेन्द्र साह भने उपस्थित हुनुभएको थिएन । सभापति लामीछानेले सांसदहरुसँग भएको छलफल संसदीय दलको औपचारिक बैठक नभएकोले संसदीय दलका नेता सहभागी नभएको बताउनु भयो । दलको औपचारिक बैठकमा संसदीय दलका नेता सहभागी हुनेमा कुनै दुविधा नरहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘संसदीय दलमा आज हाम्रो छलफल हो । संसदीय दलको बैठक होइन । हामीले बोलाउँदा खेरि नै सभापतिले सांसदहरुसँग गर्ने छलफल कार्यक्रम हो । दलको बैठक हुँदैछ । त्यसमा दलको नेता आइहाल्नुहुन्छ, त्यसमा कुनै दुविधा छैन ।’
संसद तथा संसदीय समितिमा रास्वपाका सांसदहरुले दिने अभिव्यक्ति विवादमा पर्न थालेपछि सभापति लामिछानेले बुधवार संसदसंग अन्र्तक्रिया गर्नुभएको हो ।









प्रतिक्रिया दिनुहोस्