Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


देश बनाउन सबैले सहकार्य गर्नु जरुरी छः अर्थमन्त्री वाग्ले


0
Shares

दमौली (तनहुँ) । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक आग्रहपूर्वाग्रह त्यागेर सबैपक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति तनहुँले आज दमौलीमा आयोजना गरेको वार्षिक प्रगति समीक्षा कार्यक्रममा उहाँले देशलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट योजनासहित वर्तमान सरकार अघि बढिरहेको बताउँदै सबैले आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री वाग्लेले सरकार सुशासन र सुधारलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले सरकारको पहिलो वर्षलाई सुधारको वर्ष, दोस्रोलाई सुशासनको वर्षका रूपमा लिइएको जनाउँदै तेस्रो र चौथो वर्षमा त्यसको नतिजा देखिने गरी योजनाबद्ध रूपमा काम भइरहेको उल्लेख गर्नुभयो । “यो जनताले आशा गरेको सरकार हो । देश बनाउन सबै मिलेर अघि बढौँ । गलत सोच त्यागौँ, देशलाई उचाइमा सहकार्य र समन्वय गरौँ”, उहाँले भन्नुभयो ।

मुलुकलाई समृद्ध बनाउने स्पष्ट योजना लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आएको उल्लेख गर्दै वाग्लेले जनताको अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासनको जगमा टेकेर सबै मन्त्रालयमा दैनिक रूपमा सुधारका काम भइरहेका छन् । कतिपय ठाउँमा गलत भए तत्कालै सुधार गरेर अगाडि बढिरहेका छौँ ।”

अर्थमन्त्री डा वाग्लेले सुशासनबिना मुलुकको आर्थिक तथा सामाजिक विकास सम्भव नहुने भन्दै सरकारी संयन्त्रलाई प्रभावकारी र जवाफदेही बनाउन आवश्यक रहेको बताउनुभयो । सरकारले सुशासन कायम गर्ने विषयमा कुनै सम्झौता नगर्ने उहाँको भनाइ छ । अर्थमन्त्री डा वाग्लेले पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताउँदै ऊर्जामा त्यसको सफल उदाहरण देखिसकिएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले धान्न सक्नेगरी स्वास्थ्य बिमाको ढाँचा जाने गरी सरकारले काम अगाडि बढाएको उल्लेख गर्दै निम्न वर्गलाई लक्षित गरी विगतका सरकारले ल्याएका सकारात्मक कामलाई यस वर्ष यथावत राखिएको जानकारी दिनुभयो । कार्यक्रममा तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले विकास निर्माणलाई गति दिन पूर्वाधार अदालतको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, जितप्रकाश आले, अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले पूर्वाधार विकास, पर्यटन प्रवर्द्धनलगायत विषयमा सहकार्य र समन्वयको आवश्यकता औँल्याउनुभयो ।

शुक्रबारसम्म सञ्चालन हुने समिक्षा कार्यक्रममा जिल्लास्थित स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयका आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका काम र समस्याबारे छलफल गरिने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । बताउनुभयो ।

यसैबीच, अर्थमन्त्री डा वाग्लेले बन्दीपुरमा सञ्चालित जीप सफारीले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभएको छ । बन्दीपुरस्थित टुँडिखेलबाट बन्दीपुर गाउँपालिकाको कार्यालयसम्म आज जीपमा सवारी गर्दै उहाँले ग्रामीण क्षेत्रमा जीप सफारीबाट पर्यटक आकर्षित गर्न सकिने धारणा राख्नुभयो ।उहाँले भन्नुभयो, “नेपालका थुप्रै पहाडी थुम्कामा यस्ता जीप सफारीबाट पर्यटन प्रवर्द्धन गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिन्छ ।”जीप सफारी सञ्चालनका लागि खरिद गरिने सवारीमा भन्सार शुल्क सस्तो बनाउन पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले जीप सफारीका लागि खरिद गरिने सवारीमा भन्सार शुल्क छुट दिन आग्रह गर्नुभएको थियो । बन्दीपुर हुँदै मिनीग्रेटवाल, तीनधारा, सहिद स्मारक, धरमपानी, रुम्सी घरबासलगायत ठाउँमा जीप सफारीमार्फत पर्यटकले भ्रमण गर्दै आएका छन् ।