काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो । प्रतियोगिता मंसिरको १६ गतेदेदि २९ गतेसम्म सुर्खेतमा हुने सञ्चालन गर्ने निर्णय भएको राखेपका सदस्यसचिव रामचरित्र मेहताले बताउनुभयो ।
बैठकमा युवा तथा खेलकुद मन्त्री, सातै प्रदेशका सदस्य सचिवहरू र परिषद्का सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकले प्रतियोगिताका लागि आवश्यक मापदण्ड तथा निर्देशिकाहरू समेत पारित गरेको छ । यसैगरी, जापानमा आयोजना हुने १९ औँ एशियाली खेलकुदका लागि खेलाडी र अफिसियल गरी कुल २ सय १८ जनाको सहभागितालाई परिषद्ले अन्तिम सहमति दिएको छ ।
बैठकले खेलकुद क्षेत्रको प्रशासनिक सुधारका लागिसमेत केही महत्वपूर्ण निर्णयहरू गरेको छ । जसमा कर्मचारी व्यवस्थापन, आन्तरिक स्रोतको विनियोजन र चालु आर्थिक वर्षको बजेट प्रमाणीकरण जस्ता विषयहरू रहेका छन् । परिषद्को कार्यसम्पादनलाई थप प्रभावकारी र ऊर्जावान बनाउन यी निर्णयहरूले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । त्यस्तै, नेपालमा पहिलो पटक ‘प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ । उक्त प्रतियोगिता आगामी पुस १५ गतेदेखि शुरु हुने जानकारी दिनुभयो ।
बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको पछिल्लो विवाद र निलम्बनका विषयमा पनि छलफल भएको थियो । यस विषयमा परिषद्ले वस्तुस्थितिको जानकारी लिँदै निकासका लागि समन्वय र सहकार्य भइरहेको जनाएको छ । सरकार र परिषद्को तर्फबाट निकट भविष्यमै यस समस्याको उचित समाधान निकाल्ने गरी पहल भइरहेको प्रवक्ताले जानकारी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्