Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


देशभरको खानेपानी समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन


78
Shares

काठमाडाैं ।

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आगामी ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सचिव सिग्देलकाअनुसार खानेपानीको पहुँच देशभरका करिब ९७ प्रतिशत नागरिकसम्म पुगे पनि स्वच्छ खानेपानीको पहुँच ३० प्रतिशत नागरिकसम्म मात्रै पुगेको छ । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत अगामी पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई गुणस्तरीय खानेपानीको पहुँचमा पु¥याउने लक्ष्यसहित आफूहरु काम गरिरहेको बताउनुभयो ।

उहाँले सरकारको उक्त लक्ष्य पूरा गर्न तीन तहका सरकारले कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिनुभयो । सचिव सिग्देलले पानीका मुहान सुक्दै गएको समस्या समाधानका लागि हिमनदीको पानी तराईसम्म पु¥याउने आयोजनालाई प्राथमिकतामा राखिएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म देशभरका करिब ९७ प्रतिशत नागरिकसम्म खोनपानीको कभरेज ९७ प्रतिशत पुगेको छ । र ट्रिटमेन्ट (स्वच्छ खानेपानी)को पहुँच ३० प्रतिशत नागरिकसम्म रहेको छ । नयो वर्ष नीति तथा कार्यक्रम र बजेट भाषणबाट समेत अबको पाँच वर्षभित्र शत प्रतिशत नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पु¥याउने लक्ष्य राखेको छ । हामी हामीले त्यहीअनुसार काम समेत गरिरहेका छौँ । यसको लागि तीन तहको सरकारले लगानी तथा काम गर्ने भनिएको छ । यसको लागि प्रदेश र स्थानीय तहलाई संघ सरकारले सशर्त अनुदान दिने पनि होला ।

समग्र राज्यको कार्यक्रम चाँही अबको पाँच वर्षभित्रमा सुरक्षित तथा स्वच्छ खानेपानी उपलब्ध गराउने भन्ने छ । एसडिजीको गोल पनि यसैभित्र पर्छ । अर्को कुरा, हाम्रा पानीका मुहानहरु सुके, अनुमान गर्न सकिएन भन्ने कुरामा पछिल्लो चरणमा हामीले हिम नदिहरुको पानी सिधै तराईमा पुर्याउन सकियो भने सधैंको लागि समस्या समाधान हुन्छ । त्यसपछि हामीले ग्राउण्ड वाटर पनि लिफ्टीङ गर्नुपर्दैन र सस्तो पनि पर्छ भन्ने हिसावले हामीले डाइभर्सनको आयोजनामा खानेपानीलाई पनि सँगसँगै राख्ने गरेका छौँ ।’

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अगामी ३ वर्षमा ६५ प्रतिशत नागरिक र ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित र स्वच्छ पानेपानी सेवा उपलब्ध गराउने दाबी गरेको छ ।