Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


झापामा कांग्रेसकाे संस्थापन इतर पक्षले तोक्यो ५ वटै क्षेत्रमा संयोजक


0
Shares

झापा । नेपाली कांग्रेसको संस्थापन इतर समूहले झापाका पाँच वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय समन्वय टोली गठन गरेको छ ।

काठमाडौंमा साउन २९ गते हुने समूहको भेलाको तयारीसँगै झापामा संगठनात्मक गतिविधि बढाइएको हो । त्यसका लागि पाँचै निर्वाचन क्षेत्रमा संयोजक र सदस्यको जिम्मेवारी तोकिएको छ । झापा-१ को संयोजकमा निवर्तमान जिल्ला सभापति सञ्जय निरौला र सदस्यमा निर्मला भण्डारी चयन हुनुभएकाे हाे । झापा–२ को संयोजकको जिम्मेवारी बिर्तामोड नगर सभापति भोजराज सिटौला बन्नुभएकाे छ।

सदस्यमा तरुण दलका पूर्वकेन्द्रीय सदस्य मदन बुढाथोकी र जिल्ला समिति सदस्य ओम बिमली रहेका हुन् । त्यस्तै, झापा–३ को संयोजकमा कांग्रेसका पूर्वजिल्ला सचिव भगिरथ पोद्धार चयन हुनुभएकाे छ। सदस्यमा कोशी प्रदेशसभा सदस्य भूमि राजवंशी र महासमिति सदस्य विजय रिजाल छन् । झापा–४ को संयोजकमा सूर्यनारायण ताजपुरिया चयन हुनुभएकाे छ।

ताजपुरिया कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा दुई पटक उम्मेदवार बनेका नेता हुन् । सदस्यमा विष्णुप्रसाद खरेल, शिवसताक्षीका दिपेन पाठक र राजेन्द्र उप्रेती छन् । झापा–५ को संयोजकमा खगेन्द्रप्रसाद अधिकारी चयन हुनुभएकाे हाे। अधिकारीले प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरिसक्नुभएकाे छ। सदस्यमा राजकुमार न्यौपाने ‘राजु’ चयन हुनुभएकाे हाे ।

जिल्लामा संस्थापन इतर समूहको समन्वयको जिम्मेवारी कांग्रेस झापा जिल्ला सचिव कृष्ण हुमागाईंले सम्हालिरहनुभएकाे छ। यहि साउन २९ गते काठमाडौंमा हुने भेलालाई लक्षित गर्दै इतर समूहले जिल्ला तथा क्षेत्रीय तहमा संगठन परिचालन र समन्वयलाई तीव्र बनाएको जनाएको छ ।