Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


सुनसरीसहित विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन गर्न सरकारसँग कांग्रेसकाे माग


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले सुनसरी र सिरहासहितका विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन गर्न सरकारसँग माग गरेको छ।

सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनाको सत्यतथ्य उजागर गर्न पर्याप्त नभएको निष्कर्ष निकाल्दै न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र कानूनबमोजिम दोषीमाथि कारबाही हुनुपर्नेमा बैठकले जोड दिएको जानकारी दिनुभयाे।

महामन्त्री पौडेलले स्वतन्त्र र निष्पक्ष ढङ्गबाट अनुसन्धान गर्न न्यायिक समिति गठनको मागलाई कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभामा सशक्त रूपमा उठाउने बताउनुभएकाे छ। यस विषयमा अन्य राजनीतिक दलसँग पनि सहकार्य गर्ने निर्णय भएको उहाँले बताउनुभयाे। बैठकले पार्टीका सांसदलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकेर नागरिकसँग प्रत्यक्ष समन्वय गर्ने निर्णय पनि गरेको छ। साथै, निश्चित मापदण्डका आधारमा स्वकीय सचिव नियुक्तिका लागि प्रस्ताव पेश गर्न सांसदहरूलाई निर्देशन दिने निर्णय गरिएको महामन्त्री पौडेलले जानकारी दिनुभयाे ।

त्यसैगरी, बैठकले यहि साउन २३ र २४ गते प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ।