
एजेन्सी । रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको भीषण आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
किएभका मेयर भिताली क्लिट्स्कोका अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा पाँचतले आवासीय भवनमा क्षति पुगेको छ । भवनभित्र केही व्यक्ति फसेको आशङ्का गरिएको छ भने आँगनमा आगलागी भएको छ ।
शेभचेन्किभ्स्की जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फसेका छन् । राजधानीको डार्नित्स्की जिल्लासहित अन्य क्षेत्रमा गोदाम भवनमा आगलागी भएको क्लिट्स्कोले बताउनुभएको छ ।
दुई दिनअघि रुसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । सोही क्रममा एउटा रुसी मिसाइल पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेको थियो । यसैबीच, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको मिसाइल आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको छ । शुक्रबार अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भएको कुराकानीमा उहाँले यसै साता वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेट सकारात्मक र फलदायी रहेको बताउनुभएको थियो ।
“रुसी हवाई आक्रमण निरन्तर भइरहेका छन् । विशेष गरी ब्यालिस्टिक मिसाइल रोक्न ‘प्याट्रियट’ प्रणालीका लागि इन्टरसेप्टर प्राप्त गर्नु हाम्रो उच्च प्राथमिकता हो,” जेलेन्स्कीले टेलिग्राममार्फत बताउनुभएको छ ।
गत जुलाईमा अङ्कारामा सम्पन्न नेटो शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले युक्रेनलाई थप ‘प्याट्रियट’ प्रणाली उपलब्ध गराउने सङ्केत दिनुभएको थियो । तर शुक्रबार क्याम्प डेभिडमा बसेको मन्त्रिपरिषद् बैठकमा उहाँले यसबारे अन्तिम निर्णय भइनसकेको बताउनुभएको छ ।









प्रतिक्रिया दिनुहोस्