Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


सुनसरी घटनाः संवेदनशील विषयमा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङकाे भूमिकाप्रति राप्रपाकाे आपत्ति

संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्नेमा जाेड

13
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्य-तथ्यकाे बारेमा राजनीतिक दलहरूलाई जानकारी गराउनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सुनसरी लगायतका विभिन्न जिल्लाहरूमा विकसित पछिल्लो घटनाक्रम र सुरक्षा स्थितिका सम्बन्धमा सिंहदरबारमा बुधबार सम्पन्न सर्वदलीय बैठकपछि संचारकर्मीसँग करा गर्दै अध्यक्ष लिङदेनले यस्तो आपत्ति जनाउनुभएकाे हाे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आह्वान गरिएको उक्त बैठकले मुलुकमा सामाजिक सद्भाव कायम राख्न सामुहिक अपील गर्ने निर्णय गरेको बताउनुभएकाे छ । अध्यक्ष लिङदेनले बैठकको प्रकृति र सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्री सुधन गुरूङ स्वयं उपस्थित भई घटनाको सत्य-तथ्यकाे बारेमा दलहरूलाई जानकारी गराउनुपर्ने धारणा राख्नुभएकाे छ ।

अध्यक्ष लिङदेनले तराई–मधेका क्षेत्रमा विशेषगरी हिन्दु धर्मावलम्बीहरूको चाडपर्वका समयमा यस्ता घटनाहरू पटक–पटक दोहोरिनु गम्भीर विषय भएको उल्लेख गर्नुभयो । सुरक्षा व्यवस्थामा देखिएका कमजोरीप्रति प्रश्न उठाउँदै उहाँले प्रहरीद्वारा गोली प्रहार हुनु र लगत्तै सेना परिचालन गर्नुपर्ने परिस्थिति निर्माण हुनुले सुरक्षा संयन्त्र चुकेको दावी गर्नुभएकाे छ। विगतका आन्दोलनहरूमा भएका यस्तै घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागिने गरेको स्मरण गराउँदै उहाँले यस पटकको घटनामा सरकार किन गैरजिम्मेवार बनेको भन्दै प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री शाहको ढिलो आएकाे प्रतिक्रियाप्रति पनि अध्यक्ष लिङदेनले आलोचना गर्नुभएकाे छ । घटना भएको दुई दिनपछि मात्र सामाजिक सञ्जालमार्फत राज्य जिम्मेवार रहेको भनी आएको सन्देशले सरकारको सक्रियतामाथि प्रश्न उब्जाएको समेत बताउनुभयाे । बैठकमा राप्रपाले सुरक्षा संयन्त्रको असफलता र सरकारको उदासीनताकाे बारेमा स्पष्ट धारणा राख्दै आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउन सरकारलाई सचेत गराएको छ ।