काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउन र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सुनसरीमा दुई धार्मिक समूहबीच विवाद भएसँगै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । महासचिव पोखरेलले पछिल्लो परिस्थितिलाई दृष्टिगत गरी आयोजना गरिएको सर्वदलीय बैठकलाई सकारात्मक रूपमा लिँदै यसको नेतृत्व स्वयं प्रधानमन्त्री बालेन्द्र शाहले लिनुपर्नेमा जोड दिनुभएकाे छ ।
सरकार र प्रधानमन्त्रीका तर्फबाट हुनुपर्ने पहलकदमीमा कमी देखिएको टिप्पणी गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा भएको छलफलमार्फत शान्ति, सद्भाव र सहिष्णुताका लागि संयुक्त विज्ञप्ति जारी गरिएको जानकारी दिनुभयो । सुरक्षा निकायको कार्यसम्पादनमाथि चर्चा गर्दै महासचिव पोखरेलले दङ्गा र भीड नियन्त्रणका सन्दर्भमा सुरक्षा संयन्त्रहरू किन प्रभावकारी हुन सकिरहेका छैनन् भन्ने विषयमा गहिरो समीक्षा आवश्यक रहेको बताउनुभउकाे छ।
महासचिव पोखरेलले कुनैपनि प्रकारको भ्रममा नपरी सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था तथा धार्मिक व्यक्तित्वहरूलाई अपिल समेत गर्नुभयो । विशेषगरी सुनसरी लगायतका प्रभावित क्षेत्रका जनसमुदायलाई सरकारले अभिभावकत्वको प्रत्यक्ष अनुभूति दिलाउनुपर्नेमा उहाँको जाेड छ।
महासचिव पोखरेलले नागरिकको सुरक्षालाई साझा जिम्मेवारीको रूपमा अथ्र्याउँदै मुलुकमा शान्ति र सद्भाव कायम गर्न सबै पक्षबाट सकारात्मक योगदानको अपेक्षा गर्नुभयो । न्यायको पर्खाइमा रहेका नागरिकका पक्षमा राजनीतिक दलहरू दृढतापूर्वक उभिएको उल्लेख गर्नुभएकाे छ। उहाँले कसैले पनि असुरक्षित महशुस गर्न नहुने वातावरण निर्माणमा जोड दिनुभयाे ।









प्रतिक्रिया दिनुहोस्