Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


सुनसरी घटनालाई समाधान गर्न संवाद र राजनीतिक समझदारी नै उत्तम विकल्प: संयोजक दाहाल

'याे समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने हाे'

65
Shares

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुनसरीमा पछिल्लो समय विकसित परिस्थितिलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ ।

सिंहदरबारमा बुधबार जारी सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै उहाँले यस्तो संवेदनशील घडीमा सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव एवं आपसी विश्वास कायम राख्न आह्वान गर्नुभएको हो । संयोजक दाहालले विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद् र संविधान निर्माणका जटिल चरणहरूमा राजनीतिक दलहरूले देखाएको साझा सहमति र राष्ट्रिय एकताको स्मरण गर्नुभयो । वर्तमान समयमा पनि सोही स्तरको राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीवोध आवश्यक रहेको उहाँको भनाइ छ ।

संयोजक दाहालले राष्ट्रिय महत्वका संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले साझा समाधान पहिल्याउन नसकेको भन्दै प्रश्न समेत उठाउनुभयो । यद्यपि, समसामयिक विषयमा छलफलका लागि बैठक आह्वान गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिनुभएकाे छ । परिस्थितिलाई सहज बनाउन सरकार थप जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।

संयोजक दाहालले कुनैपनि समस्याको दीर्घकालीन समाधान बल प्रयोगबाट सम्भव नहुने उल्लेख गर्दै संवाद र राजनीतिक समझदारी नै उत्तम विकल्प भएको बताउनुभउकाे छ। नेकपाले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिइसकेको जानकारी गराउनुभयाे। उहाँले घटनास्थलमा वाह्य तत्वहरूले वातावरण भड्काउन सक्ने भएकाले उच्च शतर्कता अपनाउन आग्रह गर्नुभएकाे छ।

संयोजक दाहालले अहिलेको समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो । उहाँले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गर्दै सम्पूर्ण राजनीतिक दल, सरकार र सरोकारवालाहरूलाई सामाजिक सद्भाव र शान्तिका लागि एकजुट हुन समेत अपिल गर्नुभयो ।