Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


प्रधानमन्त्री शाहलाई सामाजिक सञ्जालको ‘स्ट्याटस’ मा मात्रै सीमित नहुन सभापति थापाकाे आग्रह

प्रधानमन्त्रीलाई सक्रिय र समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव

52
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई सक्रिय र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

सिंहदरबारमा बुधबार आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सरकार केवल बल प्रयोग र सामाजिक सञ्जालको ‘स्ट्याटस’मा मात्र सीमित हुन नहुने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री बालेन्द्र शाहलाई भाउ खाने र ठालु भएर बस्न नहुने सुझाव दिनुभयो । सभापति थापाले प्रधानमन्त्रीले अहङ्कार त्यागेर सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिनुभएकाे छ । सरकारलाई अभिभावक र नेतृत्वकर्ताको संज्ञा दिँदै उहाँले नेतृत्वको मुख्य शक्ति नै सहकार्य र विश्वासको वातावरण निर्माण गर्नु रहेको उल्लेख गर्नुभयो ।

सभापति थापाले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने, राष्ट्रपतिसँग परामर्श गर्ने तथा प्रदेश र स्थानीय सरकारहरूसँग निरन्तर संवाद गरी सरकारका प्रयासहरूकाे बारेमा जानकारी गराउनुपर्ने सुझाव दिनुभएकाे छ । मधेशमा हुने कुनैपनि घटनामा राज्यले ‘अतिरिक्त बल’ प्रयोग गर्ने मानसिकता राख्नु दुःखद् रहेको टिप्पणी गर्नुभयाे । उहाँले यसलाई राज्य सञ्चालनको असफलताको निरन्तरताका रूपमा चित्रण गर्नुभएकाे छ। घटनाको छानबिनका लागि संसद्मा आवाज उठाउने बताउँदै थापाले यो समय सरकारलाई अप्ठ्यारो पार्ने नभई जिम्मेवारीपूर्वक सहयोग गर्ने समय भएको स्पष्ट पार्नुभयो ।

सभापति थापाले कांग्रेस सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न प्रतिवद्ध रहेको र यसका लागि अन्य राजनीतिक दलहरूसँग मिलेर भूमिका निर्वाह गर्ने बताउनुभएकाे छ।