काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकमत हुनुपर्नेमा जाेड दिनुभएकाे छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकाे अग्रसरतामा सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो जाेड दिनुभएकाे हाे। सभापति थापाले वर्तमान संवेदनशील परिस्थितिमा प्रमुख राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याउने रास्वपा र सभापति रलामिछानेको पहलकदमीप्रति आभार प्रकट गर्नुभयो । उहाँले नेपाली समाजको मेरुदण्डका रूपमा रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कुनै उपहार नभई नेपाली नागरिकहरूको साझा प्रयत्नबाट आर्जित पूँजी भएको उल्लेख गर्दै यसलाई जोगाउन सबैले धैर्यता र संयमता अपनाउनुपर्ने बताउनुभएकाे छ।
कांग्रेसले यस विषयमा आफ्नो धारणा प्रष्ट पार्दै मातहतका पार्टी पङ्क्ति र स्थानीय जनप्रतिनिधिहरूलाई व्यक्तिगत तवरमै टेलिफोन गरी स्थानीय स्तरमा संवाद र सद्भावका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको जानकारी गराउनुभयो । सभापति थापाले प्रभावित जिल्लाहरूमा सर्वदलीय प्रयासलाई तीब्रता दिँदै सम्भावित अवाञ्छित गतिविधि रोक्न प्रशासन, प्रेस र राजनीतिक दलहरूले ‘प्रो–एक्टिभ’ भएर लाग्नुपर्ने प्रश्ताव गर्नुभएकाे छ।
सभापति थापाले संकटको समयमा सरकारको उपस्थिति प्रभावकारी नदेखिएको भन्दै आलोचना समेत गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्