पालु (इन्डोनेसिया), असोज १३ । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झन्डै ४०० पुगेको छ ।
सुलावेसी क्षेत्रमा गएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढिरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अरु सयौंजनाको अस्पतालमा उपचार भइरहेको उनीहरुको भनाइ छ ।
घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउनेक्रम पनि चलिरहेको बताइएको छ ।
प्रकोप व्यवस्थापनसम्बन्धी कार्यालयका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यो समाचार लेख्दासम्म ३८४ जनाको मृत्यु भएको छ ।
उनीहरु सबैको पालुमा मृत्यु भएको र मृत्यु हुनेहरुको संख्या अझ बढ्नसक्ने देखिएको अधिकारीहरुको भनाइ छ ।
सुनामी आएपछि मानिस आत्तिएर चिच्याइरहेका र भागिरहेका थिए ।
एउटा मस्जिदमा पनि क्षति पुगेको बताइएको छ । अस्पताल, होटल र पसललगायतका हजारौं घरहरू भत्किएका छन् ।
यस क्षेत्रमा अहिले विद्युत् तथा सन्चार सेवा अवरुद्ध भएका छन् भने पहिरोका कारण कतिपय मुख्य बाटोहरु अवरुद्ध भएका छन् ।
शक्तिशाली पराकम्पनले उक्त सहरलाई निरन्तर धक्का दिइरहेको र सुलावेसी टापु हुँदै पालु सहर आएको सुनामीको छाल तीन मिटरसम्म अग्लो रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
इन्डोनेसियाको तटीय सहरमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएपछि शक्तिशाली सुनामी पनि आएको हो ।
प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयंसेवकलगायतले भूकम्प र सुनामीप्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्