२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


राष्ट्रविरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ : गच्छदार


0
Shares

विराटनगर, असोज १३ । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्रविरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सन्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय अखन्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएको चर्चा गरे ।

नेता गच्छदारले राष्ट्रविरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन नहुने उल्लेख गर्दै वर्तमान सरकारले यस्ता गतिविधिमा लाग्नेलाई समयमै नियन्त्रण गनुपर्ने बताए ।

देशमा हत्या, हिंसा र बलात्कारका घटना वृद्धि भएकामा चिन्ता व्यक्त गर्दै उनले गृह प्रशासनले जनताको सुरक्षाको वातावरण सिर्जना गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

एक प्रश्नको जवाफमा नेता गच्छदारले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख प्रतिपक्षले पाउनुपर्ने र यसको पालना सत्तापक्षले नै गर्नुपर्ने आवश्यकता औल्याउँदै यो विषय सर्वोच्च अदालतमा प्रवेश भइसकेकाले नेपाली कांग्रेसले त्यसको निर्णय पर्खिरहेको धारणा व्यक्त गरे ।

अर्को फरक प्रसंगमा उनले नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको समायोजन विद्यार्थी संगठनबाट सुरुआत भएको बताउँदै आगामी दसैंअगाडि दुवै पार्टीबीचको सहमतिअनुसार कार्य सम्पन्न हुने दाबी गरे । रासस