काठमाडौं ।
अभिभावक संघ नेपालले नेपाल सरकारले निजी शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरूको शुल्कमा लगाइएको ३ प्रतिशत समता शुल्क नउठाउने स्वागत गर्दै सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीको शुल्कमा ३ प्रतिशत समता शुल्क लगाउने निर्णय भई संसदबाट पारित भएको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण र राजपत्रमा प्रकाशन भई सो व्यवस्था २०८३ साउन १ गतेदेखि लागू भएको थियो ।
यस्तो व्यवस्थाका कारण अभिभावकहरूमा पर्ने वा पर्न सक्ने अतिरिक्त आर्थिक भारको विषयमा अभिभावक संघ नेपालले निरन्तर ध्यानाकर्षण गराउँदै आएको थियो । संघले उक्त कर खारेजीका लागि सरकारसमक्ष विभिन्न तहबाट अनुरोध गर्दै आएको थियो भने संघका अध्यक्ष, संरक्षक तथा पदाधिकारीहरूले सार्वजनिक रूपमा समता शुल्क खारेज गर्न माग गर्दै जोडदार आवाज उठाएका थिए ।
यसैबीच संघले उक्त शुल्कको खारेजीका लागि सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णयसमेत गरिसकेको थियो । तर, उक्त प्रक्रिया अगाडि बढ्नुअघि नै नेपाल सरकारले समतामूलक कर नउठाउने निर्णय गरेपछि आम अभिभावकहरूले राहत महसुस गरेको संघले जनाएको छ ।
यसका लागि अभिभावक संघ नेपालले सरकार तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै सम्पूर्ण अभिभावकहरूको तर्फबाट हार्दिक धन्यवाद प्रकट गरेको हो ।









प्रतिक्रिया दिनुहोस्