Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


म्यानमारको तट नजिकै २ वटा डुंगा दुर्घटना

५ सय जना बढी शरणार्थीको मृत्यु भएकाे आशंका

26
Shares

एजेन्सी । म्यानमारको तट नजिकै शरणार्थी बोकेका दुई वटा डुंगा डुबेको आशंका गरिएको छ।

अन्तर्राष्ट्रिय एजेन्सीले डुंगामा ५ सय भन्दा बढी मानिस रहेको र तिनको मृत्यु भएको हुनसक्ने जनाएकाे हाे । अन्तर्राष्ट्रिय बसाइँसराई संगठन र संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रारम्भिक जानकारीका आधारमा दुवै डुंगा जुन महिनाको अन्त्यतिर म्यानमारको रखाइन राज्यबाट प्रस्थान गरेको र त्यसमा सवार अधिकांश यात्रु रोहिंग्या समुदायका रहेको जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले करिब २ सय ५० जना सवार पहिलो डुंगा यात्रा शुरु गरेको केही समयपछि सम्पर्कविहीन भएको जनाएका हुन्। करिब २ सय ८० जना यात्रु बोकेको दोस्रो डुंगा जुलाई ८ तारिखमा डुबेको आशंका गरिएको छ ।एजेन्सीहरूले यस वर्ष मात्रै बंगालको खाडी र अन्डमान सागर क्षेत्रमा रोहिंग्या शरणार्थी तथा बंगलादेशी नागरिकसहित करिब ३ सय जनाको मृत्यु भएको विवरण प्राप्त भएको बताएका हुन् ।

सन् २०१७ मा म्यानमारको सेनाले रखाइन राज्यमा व्यापक सैन्य अभियान सञ्चालन गरेपछि अल्पसंख्यक रोहिंग्या समुदायको ठूलो संख्यामा पलायन शुरु भएको समाचार संस्था रोयटर्सले जनाएको हाे । त्यस यता सात लाख भन्दा बढी रोहिंग्याले छिमेकी बंगलादेशमा शरण लिएका छन् । म्यानमार सरकारले रोहिंग्या समुदायमाथि दुर्व्यवहार गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

तर, सरकारले उनीहरूलाई देशको नागरिकका रूपमा मान्यता दिन भने अझै अस्वीकार गर्दै आएको छ ।