काठमाडौं । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२–०८३ मा लक्ष्य भन्दा बढी मुद्दा फर्स्यौट गरेको छ ।
अदालतले तोकेको वार्षिक लक्ष्यको तुलनामा १०१ दशमलव ६० प्रतिशत प्रगति हासिल गरेको हो । अदालतको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका २ हजार २ सय ६७ र नयाँ दर्ता भएका ४ हजार २ सय ४९ गरी कूल ६ हजार ५ सय १६ मुद्दा रहेका थिए । जसमध्ये ७० दशमलव ८८ प्रतिशत अर्थात ४ हजार ६ सय १९ मुद्दा फर्स्यौट भइसकेको अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले जानकारी दिनुभयो ।
हाल १ हजार ८ सय ९७ मुद्दा मात्र विचाराधीन अवस्थामा रहेका छन् । विशेष गरी पुराना मुद्दा फर्स्यौटलाई प्राथमिकतामा राखेर रणनीतिक योजनाका साथ कार्यसम्पादन गरिएकाले १८ महिना तथा दुई वर्ष नाघेका सबै मुद्दाहरू शून्यमा झार्न सफल भएको अदालतले जनाएको हाे । चालु आर्थिक वर्षका लागि अदालतले ४ हजार ५ सय ४६ मुद्दा फैसला गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
तर कार्यसम्पादनमा प्रभावकारिता ल्याउँदै निर्धारित लक्ष्य भन्दा बढी अर्थात ४ हजार ६ सय १९ मुद्दा फस्र्यौट गरिएको छ । अदालतले आगामी आर्थिक वर्षमा ६ हजार ८ सय २६ नयाँ मुद्दा दर्ता हुनसक्ने अनुमान गरेको हाे ।









प्रतिक्रिया दिनुहोस्