Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सरकारको १०० दिन सुशासनका दृष्टिले सकारात्मकः सांसद खरेल


26
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले सरकारको शुरुवाती १०० दिन सुशासनका दृष्टिले सकारात्मक रहेको टिप्पणी गर्नुभएको छ ।

संसद बैठक आगामी साउन १४ गतेसम्मका लागि स्थगित भएको सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद खरेलले यस्तो बताउनुभएको हो ।

बजेट पारित भई कानून निर्माणका प्रक्रियाहरू अघि बढिरहेको अवस्थामा सदन १४ दिनका लागि स्थगित हुनुलाई उहाँले सकारात्मक रूपमा लिनुभएको छ ।यस अवधिलाई सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा जनताको घरदैलोमा पुग्ने र जनचासोका विषयहरू बुझ्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै उहाँले छोटो अवधिमै ठूलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक नहुने तर्क गर्नुभयो । सरकारको गति सुस्त भएको र अपेक्षित परिणाम नआएको जनगुनासोका सम्बन्धमा टिप्पणी गर्दै सांसद खरेलले जनताको धैर्यता र सुझावलाई आफूले सम्मान गर्ने बताउनु भयो । कतिपय त्रुटि र कमजोरीहरूलाई सुधार गर्दै सुशासनको यात्रालाई थप प्रभावकारी बनाउन सरकारलाई रचनात्मक दबाब दिने उहाँको प्रतिवद्धता छ ।