Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


काठमाडौंको मुख्य सडकमा गोलभेडा फालेर सरकारविररूद्ध किसानको प्रदर्शन

सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको आरोप

0
Shares

काठमाडौं । किसानहरूले काठमाडौंको माइतीघरमा गोलभेडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले बुधबार सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका छन्।

प्रदर्शनका क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको गोलभेडा बिक्री हुन नसकेको र लागत समेत उठाउन कठिन भएको र सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाएका छन् । विरोधस्वरूप उनीहरूले गालेभेडा सडकमै फाल्दै सरकारको कृषि नीतिप्रति असन्तुष्टि जनाएका थिए ।

किसानहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादनमा अनुदान वृद्धि, मल–बीउको सहज उपलब्धता, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागु गर्न माग गरेका छन् । उनीहरूले सस्तो आयातित तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको समेत बताएका हुन् ।