Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


इरानी बन्दरगाहमा अमेरिकी नौसैनिक नाकाबन्दी फेरि लागू गर्ने राष्ट्रपति ट्रम्पकाे घोषणा

हर्मुज हुँदै जाने कार्गो जहाजमा पनि २० प्रतिशत शुल्क लगाउने दावी

13
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू गर्ने घोषणा गर्नुभएकाे छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने सबै कार्गो जहाजमा २० प्रतिशत शुल्क लगाउने घोषणा गर्नुभएकाे हाे।याे कदमको उद्देश्य इरानका जहाज वा इरानसँग व्यापार गर्ने ग्राहकहरूलाई विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलमार्ग प्रयोग गर्नबाट रोक्नु हो । उहाँले अन्य सबै देशहरूले भने यो जलमार्गलाई निष्पक्ष र स्वतन्त्र रूपमा प्रयोग गर्न पाउने बताउनुभएकाे छ।

राष्ट्रपति ट्रम्पले यो व्यवस्था अमेरिकी समय अनुसार मंगलबार अपराह्न ४ बजेदेखि लागू हुने बताउनुभयाे। इरानका विदेशमन्त्रीले राष्ट्रपति ट्रम्पको घोषणापछि प्रतिक्रिया दिँदै सुरक्षित समुद्री आवागमन उपलब्ध गराउने पक्षले त्यसको उचित क्षतिपूर्ति पाउनुपर्ने बताउनुभएकाे छ। विदेशमन्त्रीले राष्ट्रपति ट्रम्पकै शब्द प्रयोग गर्दै हर्मुज जलमार्गको वास्तविक ‘संरक्षक’ इरान नै हो र रहने बताउनुभयाे ।

यो घोषणा तेहरान र वासिंटनबीच हर्मुज जलमार्गको नियन्त्रणलाई लिएर तनाव बढिरहेकाे समयमा आएको हो । अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय राडार, मिसाइल प्रक्षेपणस्थल तथा ड्रोन अड्डाहरूलाई लक्षित गर्दै नयाँ हवाई आक्रमण गरेको जनाएको छ ।

यसको जवाफमा इरानले कुवेत, जोर्डन र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूका साथै ओमानमा रहेका केही राडार प्रणालीलाई निशाना बनाएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकाले होर्मुज जलमार्गको संरक्षकको भूमिका निर्वाह गर्ने र त्यहाँबाट गुज्रने सबै कार्गोमा २० प्रतिशत शुल्क उठाउने बताउनुभएकाे थियाे ।

तर पनि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै स्पष्ट नभएकाे बीबीसीले जनाएकाे छ।