Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


इरानकाे दक्षिणी तटीय क्षेत्रमाथि अमेरिकाकाे थप हवाई आक्रमण

इरानमाथि अझै कडा सैन्य आक्रमण गर्ने राष्ट्रपति ट्रम्पकाे चेतावनी

0
Shares

एजेन्सी । अमेरिकाले इरानका दक्षिणी तटीय क्षेत्रमा थप हवाई आक्रमण गरेको छ ।

प्राप्त विवरण अनुसार स्ट्रेट अफ होर्मुज आसपासका बुशेहर, चाबहार, बन्दर अब्बास, सिरिक, जास्क तथा अबु मुसा टापुमा विस्फोट भएकाे हाे । साेही आक्रमणमा एक जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । चाबहारमा व्यापक रूपमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । त्यहाँ रहेका दुई वटा बन्दरगाह तथा एउटा समुद्री ट्राफिक नियन्त्रण टावर पनि आक्रमणको निशानामा परेको छ ।

अमेरिकी सैन्य कमान्डको निर्देशनमा गरिएको भनिएको नयाँ हवाई आक्रमणपछि इरानी सञ्चारमाध्यमहरूले दक्षिणी तटीय क्षेत्रमा शक्तिशाली विस्फोट भएका जनाएको हो । बन्दर अब्बास र चाबहार आसपास लगातार विस्फोटका आवाज सुनिएको तथा पर्सियन खाडीमा रहेका इरान नियन्त्रित रणनीतिक टापुहरू र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका नौसैनिक अड्डाहरूलाई लक्षित गरी अमेरिकी क्षेप्यास्त्र प्रहार भएको दावी गरिएको बीबीसीले जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमा आगलागी र धुवाँ देखिएको भिडियो सार्वजनिक गर्नुभएकाे थियाे । उहाँले इरानले जहाजहरूमाथि गरेको आक्रमणको बदला भएकाे दावी गर्नुभएकाे छ । यदि, यस्तो कार्य फेरि दोहोरियो भने यसको परिणाम अझ बढी गम्भीर हुने समेत उहाँकाे चेतावनी थियाे ।

राष्ट्रपति ट्रम्पले यी आक्रमणहरू स्ट्रेट अफ होर्मुजमा जहाजहरूमाथि भएको भनिएको इरानी आक्रमणको जवाफस्वरूप गरिएको दाबी गर्दै त्यस्ता गतिविधि दोहोरिए अमेरिकाले अझ कडा सैन्य प्रतिक्रिया दिने पुनः चेतावनी दिनुभएकाे छ। उता इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले इरानीहरूले अश्लीलताको जवाफ अश्लीलताले नभएर कामले दिने बताउनुभयाे।

त्यस्तै, इरानका उप–परराष्ट्रमन्त्री काजेम गरिबाबादीले राष्ट्रपति ट्रम्पको अभिव्यक्तिलाई शक्तिको प्रदर्शन नभई पाशविक बलमा आधारित नीतिको असफलताको स्वीकारोक्ति भएको टिप्पणी गर्नुभएकाे छ।