रसुवा ।
पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित खोपाङ भिरमा बुधबार बिहान मालवाहक डिब्बा गाडी दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ।
रसुवागढीबाट तयारी कपडा (रेडिमेड) बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ६८८२ नम्बरको डिब्बा गाडी बिहान करिब ११ः३० बजे ब्रेक फेल भई सडकको बायाँतर्फ पल्टिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र रसुवाले जनाएको छ।
दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। गाडीको अगाडिको सिसा र दाहिने भागमा क्षति पुगेको छ।
दुर्घटनापछि केही समय सडक पूर्ण रूपमा अवरुद्ध भए पनि अहिले मोटरसाइकल तथा साना सवारी साधनको आवतजावत सञ्चालनमा आएको छ। तर, दुर्घटनाग्रस्त गाडी हटाउने काम जारी रहेकाले ठूला सवारी साधन सञ्चालन हुन अझै केही समय लाग्ने जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन सम्बन्धित निकायले दुर्घटनाग्रस्त गाडी हटाउने काम गरिरहेको जनाइएको छ।









प्रतिक्रिया दिनुहोस्