काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को नेतृत्व कार्यसम्पादन, सुशासन कायम गर्ने क्षमता र दक्षताका आधारमा मात्रै चयन हुने बताउनुभएको छ।
नेपाल कृषि अनुसन्धान परिषद्ले आयोजना गरेको नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिक कर्मचारीहरूको अभिमुखीकरण कार्यक्रममा मन्त्री चौधरीले इमान्दार, मेहनती र नतिजामुखी वैज्ञानिकले मात्र संस्थाको नेतृत्व गर्ने अवसर पाउने बताउनुभएको हो । विगत केही वर्षदेखि परिषद् आन्तरिक जटिलता र संरचनागत समस्याका कारण संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्रालयले परिषद् सुधारलाई उच्च प्राथमिकतामा राखे पनि संस्थाले अझै स्पष्ट मार्गचित्र तयार गर्न नसकेको उहाँको भनाई छ । मन्त्रालयको कार्यभार सम्हालेको पहिलो दिनदेखि नै परिषद् पछाडि पर्नुका कारणहरूको गम्भीर आफूले समीक्षा गरिरहेको जानकारी दिँदै उहाँले वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान नसक्ने बताउनुभयो । परिषद्भिित्र आत्मसमीक्षा र संस्थागत सुधारको आवश्यकता रहेको उहाँले बताउनुभएकाे छ।
मन्त्री चौधरीले नवनियुक्त वैज्ञानिकहरुलाई कृषि अनुसन्धानमार्फत देश र कृषि क्षेत्रको विकासमा योगदान दिन आग्रह गर्नुभयो । नयाँ वैज्ञानिकहरूको भविष्य सुरक्षित गर्नु सरकारको पनि जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले आवश्यक नीतिगत सुधारका लागि मन्त्रालय पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनुभयो । हाल नार्क, २०४८ सालको ऐनअनुसार सञ्चालन भइरहेकोले उक्त ऐन समयानुकूल नभएकाले संशोधन प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभएकाे छ। कृषि अनुसन्धान प्रणालीलाई सशक्त, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक नीति, पूर्वाधार, अनुसन्धानमैत्री वातावरण तथा क्षमता विकासमा मन्त्रालयले प्राथमिकता दिएको उहाँले बताउनुभयाे ।
मन्त्री चौधरीले परिषद्को संगठन तथा व्यवस्थापन ९ओ एण्ड एम० सर्वेक्षण लामो समयदेखि हुन नसकेको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभएकाे छ । समस्या समाधानका लागि सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिइसकेको बताउनुभयो । सरकार परिषद्को संस्थागत सुदृढीकरण, वैज्ञानिकहरूको करियर विकास तथा कर्मचारी हितप्रति प्रतिवद्ध रहेको उहाँको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्